आइतवार, बैशाख ६, २०८३

कैलाली–५ का उज्यालो पार्टीका उम्मेदवार साउदका १२ बुँदे प्रतिबद्धता

धनगढी— कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन् । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका साउदले पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङको नेतृत्वमा आफू जनताको मुद्दा लिएर मैदानमा उत्रिएको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै साउदले देश र जनताको निम्ति जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सुदूरपश्चिममा दशकौंदेखि जटिल सामाजिक–आर्थिक समस्याका रूपमा रहेका मुद्दाहरू समाधान गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने बताएका छन् । विशेष गरी कमैया प्रथा प्रभावित परिवार, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनस्र्थापना, बेरोजगार युवाको रोजगारी र सुशासन स्थापनालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

साउदले कैलाली र कञ्चनपुरका ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका हजारौं परिवारको समस्या दीर्घकालीन नीति निर्माणमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विगतदेखि नै कमैया प्रथाको अवशेष अन्त्य तथा पुनस्र्थापनाका लागि पहल गर्दै आएको दाबी गरेका छन् । ‘भूमिहीन नागरिकलाई अधिकारसहितको बसोबास दिलाउनु राज्यको दायित्व हो,’ उनले भने ।

उम्मेदवार साउदले आफू उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै कालोबजारी, भ्रष्टाचार र माफियाविरुद्धको अभियानलाई सदन र सडक दुवैबाट सशक्त बनाउने बताएका छन् । सबै नागरिकले स्वस्थ खानेकुरा, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको संवैधानिक अधिकार उपभोग गर्न पाउनुपर्ने उनको जोड छ । उनले स्वच्छ प्रतिस्पर्धा र सुशासनयुक्त समाज निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राखेको बताएका छन् ।

साउदले धनगढी विमानस्थललाई स्तरोन्नति गरी राष्ट्रिय हबका रूपमा विकास गर्न पहल गर्ने बताएका छन् । हवाई भाडादरको असमानता घटाउन सम्बन्धित निकायसँग समन्वय गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रकै गौरवको ऐतिहासिक विश्वविद्यालयका रूपमा स्थापित गर्न पहल गर्ने तथा सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गराउने उनले बताएका छन् ।

उच्च अदालत धनगढीमै कायम राखी डोटीमा उच्च अदालतको इकाई स्थापना गर्न आफूले पहल गर्ने पनि उनले उल्लेख गरेका छन् । पूर्वाधार विकासअन्तर्गत सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बजेट विनियोजन गराउन सम्बन्धित निकायमा पहल गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

साउदको प्रतिबद्धता–पत्रमा युवालाई प्राथमिकता दिइएको छ । उनले पाँच वर्षभित्र कृषि, सूचना प्रविधि, वन, जलस्रोत, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १२ हजार बेरोजगार युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेका छन् । सुदूरपश्चिममा स्मार्ट आईटी व्यवसायको प्रवद्र्धन गरी सामाजिक सञ्जाल र इन्टरनेटलाई आयआर्जनको माध्यम बनाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।

प्रदेशस्तरीय सीप तथा रोजगार भवन स्थापना गरी युवालाई तालिम र रोजगारीसँग जोड्ने योजना पनि उनले अघि सारेका छन् । साथै, राष्ट्रिय स्तरको औषधि उद्योग स्थापना गरी रोजगारी सृजना र औषधिमा आत्मनिर्भरता बढाउने उनको लक्ष्य छ ।

साउदले साना व्यवसाय प्रवद्र्धनका लागि ५० लाख रुपैयाँभन्दा कम लगानीका व्यवसायलाई ५० प्रतिशत सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई दबाब दिने बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई जनतासँग प्रत्यक्ष जोड्ने नीतिगत सुधार आवश्यक रहेको उनको धारणा छ ।

सहकारी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठनको पहल गर्ने र पीडितको रकम फिर्ता गराउने प्रतिबद्धता पनि उनले जनाएका छन् । सहकारी संस्थाको क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

प्रतिबद्धता–पत्रमा सनातन हिन्दु धर्मसम्बन्धी प्रदेशस्तरीय पुस्तकालय स्थापना गर्ने उल्लेख छ । सांस्कृतिक पहिचान र धार्मिक अध्ययन–अनुसन्धानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो पहल आवश्यक रहेको उनले बताएका छन् ।

साउदले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र र पार्टीको घोषणा–पत्रअनुसार कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै मतदातासमक्ष समर्थनको अपिल गरेका छन् । उनले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘चिम’ मा मतदान गरी बहुमतले विजयी गराउन आग्रह गरेका छन् ।

कैलाली–५ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा साउदको उम्मेदवारी र सार्वजनिक प्रतिबद्धताले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । स्थानीय विकास, रोजगारी, सुशासन र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै उनले मतदाताको विश्वास जित्ने प्रयास गरेका छन् । आगामी दिनमा अन्य दलका उम्मेदवारले सार्वजनिक गर्ने एजेन्डासँग उनको प्रतिबद्धताको तुलना गर्दै मतदाताले आफ्नो निर्णय गर्ने अपेक्षा गरिएको छ ।