आइतवार, बैशाख ६, २०८३

सम्झौता होइन, केवल विकास मूल एजेण्डा, कैलाली क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेद्वार छत्रबहादुर भट्टको प्रतिबद्धतापत्र सार्वजनिक

धनगढी– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेद्वार छत्र बहादुर भट्टले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले ‘सम्झौता होइन, केवल विकास’ भन्ने मूल नारासहित जनतामुखी एजेण्डा अघि सारेका हुन् । फागुन २१ गते हुने निर्वाचनमा चुनाव चिन्ह ‘आँपको दाना’ लिएर मैदानमा उत्रिएका भट्टले आफू कुनै दलको हैन, जनताको पक्षमा उभिने स्वतन्त्र आवाज भएको दाबी गरे ।
कैलाली जिल्ला अन्तर्गत पर्ने क्षेत्र नम्बर ४ लाई सुदूरपश्चिमकै विकासको प्रवेशद्वारका रूपमा व्याख्या गर्दै भट्टले स्वास्थ्य, उद्योग÷रोजगारी, शिक्षा÷खेलकुद, पर्यटन, पूर्वाधार र कृषि गरी ६ प्रमुख क्षेत्रमा केन्द्रित योजनाहरू सार्वजनिक गरेका हुन् । ‘मैले गर्न सक्ने र व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकिने विषय मात्र समेटेको छु,’ उनले भने ।
भट्टले आफ्नो घोषणापत्रको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिएका छन् । उनले कैलाली–४ मा क्यान्सर अस्पताल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । सुदूरपश्चिम प्रदेशमा क्यान्सर उपचारका लागि बिरामीहरूलाई बाहिर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले क्षेत्रमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य राखेका छन् ।
यसका साथै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने उनले बताए । प्रत्येक वडामा कम्तीमा महिनामा एकपटक विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने योजना पनि अघि सारिएको छ ।
तराई क्षेत्र भएकाले सर्पदंशको जोखिम उच्च रहेको भन्दै उनले सर्पदंश उपचार केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । ‘स्वास्थ्य पहुँच सबैका लागि समान हुनुपर्छ,’ उनले भने ।
कैलाली–४ भित्र रहेको बेरोजगारी समस्यालाई मुख्य चुनौतीका रूपमा लिँदै भट्टले एक हजार करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्र्याउने लक्ष्य सार्वजनिक गरेका छन् । कृषि, जडीबुटी, ऊर्जा तथा वनमा आधारित उद्योग स्थापना गरिने उनको योजना छ ।
अत्तरिया क्षेत्रमा पाँचतारे होटल स्थापनाका लागि लगानी सुनिश्चित गरिने उनले बताए । यसले पर्यटन प्रवद्र्धन र रोजगारी सृजनामा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सुदूरपश्चिममा निर्यातमूलक उद्योग स्थापना गर्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने पहल गरिनेछ । साथै ‘एक घर, एक रोजगारी’ अभियान अन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरिने प्रतिबद्धता जनाइएको छ ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्दै सुविधासम्पन्न बनाउने योजना अघि सारिएको छ । प्रत्येक विद्यालयमा उच्च क्षमताको इन्टरनेटसहित कम्प्युटर ल्याब सञ्चालनका लागि पहल गरिने बताइएको छ ।
बहुप्राविधिक सिप तालिम केन्द्र स्थापना गरी युवालाई दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै खेलकुद पूर्वाधार विकासअन्तर्गत खेलमैदान र मल्टीपर्पज हल निर्माण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।
भट्टले कैलाली–४ मा अन्तर्राष्ट्रिय स्तरको आविष्कार तथा नवप्रवद्र्धन केन्द्र स्थापना गर्ने, विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गर्ने महत्वाकांक्षी योजना समेत सार्वजनिक गरेका छन् ।
पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै भट्टले कैलाली–४ भित्र रहेका प्राकृतिक र धार्मिक सम्पदाको पहिचान गरी एकीकृत विकास गरिने बताएका छन् ।
अत्तरिया क्षेत्रमा ई–प्ल्याटफर्मसहितको पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ । साथै ‘भिजिट सुदूरपश्चिम’ अभियान सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिने योजना छ ।
गोदावरी धामलाई प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उनको योजना रहेको छ । गोदावरी धामलाई हरिद्वारसरह मान्यता दिलाउँदै प्रचार–प्रसार गरिने उनले बताए । गोदावरीमा लाग्ने महाकुम्भ मेलामा ५ करोड भारतीय दर्शनार्थी भित्र्याउने महत्वाकांक्षी लक्ष्य समेत उनले सार्वजनिक गरेका छन् । भारतको नासिकस्थित त्रिमबाकेश्वर मन्दिरमा २०२७ मा लाग्ने गोदावरी महाकुम्भ मेलामा एक लाख दर्शनार्थीलाई निःशुल्क लैजाने–ल्याउने व्यवस्था गरिने उनले बताए ।
यसैगरी, चुरे पहाडि क्षेत्रमा ट्रेकिङ प्रवद्र्धन, राणाकालीन गर्भा दरबारलाई पुरातात्विक सम्पदाका रूपमा विकास, गोदावरी धाममा निर्माणाधीन राम–जानकी मन्दिरलाई पूर्णता दिने तथा अत्तरिया चोकदेखि गोदावरी धामसम्म विशेष प्रकाश व्यवस्थाको योजना पनि अघि सारिएको छ ।
पूर्वाधार विकासलाई समग्र विकासको मेरुदण्ड मान्दै भट्टले मुख्य नदीहरू खुटिया, शिवगंगा र गोदावरीमा वृत्त तटबन्धनका लागि संघीय सरकारसँग विशेष पहल गर्ने बताए । सडक पूर्वाधारलाई प्राथमिकतामा राखिने, खानेपानी र विद्युत पहुँच विस्तार गरिने, बजार क्षेत्रलाई हरित बजार र उज्यालो सहरका रूपमा विकास गरिने योजनाहरू घोषणापत्रमा समेटिएका छन् । सुदूरपश्चिमलाई जोड्ने प्रमुख केन्द्र अत्तरिया बसपार्कलाई सुविधासम्पन्न र व्यवस्थित बनाउने योजना छ । अत्तरिया–गेटा आकासे सडक तथा मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी क्षेत्रमा पैदलमार्गमा आकासे पुल निर्माण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।
कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मान्दै ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने भट्टले बताए । चुरे क्षेत्रमा उत्पादन हुने अर्गानिक सुन्तला तथा अन्य कृषि उपजका लागि शीतभण्डार स्थापना गरिने योजना छ । अर्गानिक अदुवा र कागती खेतीलाई विश्व बजारमा निर्यात गर्ने लक्ष्य राखिएको छ । एग्रो टुरिजम अन्तर्गत होमस्टे र स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ ।
‘एक वडा, एक कृषि एम्बुलेन्स’ कार्यक्रममार्फत कृषकलाई सहज सेवा उपलब्ध गराइनेछ । अत्तरिया कृषि हाट बजारलाई आधुनिक हाट बजारका रूपमा विकास गरिने र फूल खेती प्रवद्र्धनका लागि बिक्री कक्ष स्थापना गरिने योजना पनि सार्वजनिक गरिएको छ ।
भट्टले आफू कुनै दलगत स्वार्थमा नभई जनताको प्रत्यक्ष हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘दलको होइन, जनताको पक्षमा उभिने स्वतन्त्र आवाज आवश्यक छ,’ उनले भने । उनले आफ्नो प्रतिबद्धतापत्र व्यवहारिक, मापनयोग्य र कार्यान्वयनयोग्य भएको दाबी गरे ।