अत्तरिया – २०६४ यता पाँचौँ पटक चुनाव लडिरहेको कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार लेख राज भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर भट्टले आफ्ना पाँच राष्ट्रिय योजना र पाँच सं कल्प सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।
उनले उठाएका पाँच राष्ट्रिय योजना भने पुरानै छन् । जसमा पश्चिम सेती जल विद्युत् आयोजना निर्माणका लागि आवश्यक पहल गर्ने, दोधारा–चाँदनी ड्राइ पोर्टको विकासका लागि आवश्यक पहल गर्ने, औद्योगिक क्षेत्र हरैयालाई विशेष व्यापार क्षेत्रको रूपमा विकास गर्ने, गेटा विमान स्थललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरको विमान स्थलका रूपमा विकास गर्ने र सेती लोक मार्गको स्तरोन्नति तथा विस्तारका लागि आवश्यक पहल गर्ने योजना समेटिएका छन् । जुन उनले विगत देखि नै उठाउँदै आएका मुद्दा हुन । यद्यपि यी योजना मध्ये केहीमा काम समेत जारी रहेको छ ।
भट्टले प्रतिबद्धता पत्रमा आफ्ना पाँच वटा सं कल्प पनि गरेको छन् । जसमा काम गर्छौँ, काम देखाउँछौ, विकासमा निरन्तरता, जनताको हितमा राजनीति, कैलाली निर्वाचन क्षेत्र –४ लाई अवसर, सम्मान र समृद्धिको केन्द्र बनाउने, स्पष्ट दृष्टिकोण, दूरदर्शी नेतृत्व र राष्ट्र, राष्ट्रियता र राजनीतिक स्थायित्वका लागि दृढसंकल्प सहितका पाँच बुँदा राखिएको छ ।
भट्टले प्रतिबद्धता पत्रमा स्थानीय स्तरका मुद्दा समेटेर छ वटा बुँदा समेटिएका छन् । जसमा शिक्षा, स्वास्थ्य तथा खेलकुद अन्तरगत सुदूरपश्चिम प्रदेशमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयलाई ६०० शय्याको अस्पतालमा विकास गरी एमबिबिएस पठनपाठन तथा छिटो छरितो र प्रभावकारी स्वास्थ्य सेवाको यथाशीघ्र कार्यान्वयनका लागि पहल गर्ने, यस क्षेत्रमा रहेका सामुदायिक क्याम्पसहरूको भौतिक पूर्वाधारको विकासका साथै सङ्काय तथा विषय विस्तारका लागि पहल गर्ने, सामुदायिक विद्यालयहरूमा समय सापेक्ष तथा प्रविधि मैत्री शिक्षा प्रदान गर्न आईसीटीको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी कार्यान्वयन गर्ने तथा प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन पहल गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि आवश्यक पहल गर्ने, नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई सर्व सुलभ र प्रभावकारी बनाउन पहल गर्ने, प्रदेश स्तरीय रङ्गशाला तथा एक पालिका एक खेल मैदान निर्माणका लागि डिपीआर सहित आवश्यक पहल गर्ने, थारु समुदायमा देखापरिरहने सिकलसेल एनिमिया स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयमा एक छुट्टै अनुसन्धान विभागको नै स्थापना गरी सो समस्या निराकरणका लागि पहल गर्ने लगायतका योजना समेटिएका छन् ।
यस्तै भौतिक पूर्वाधार अन्तरगत धनगढी–दिपायल, उरयी नाका (ताक्लाकोट) फास्ट ट्र्याक लगायत यस निर्वाचन क्षेत्र भित्र आवश्यक सडक निर्माण, स्तरोन्नति तथा विस्तार र सडक सञ्जालका लागि पहल गर्ने, दुरी कम गर्न यो सडकको ३ ठाउँमा सुरुङ मार्ग अध्ययन गरी सुरुङ मार्ग निर्माण गर्न पहल गर्ने, बाढी, पहिरो र नदी जन्य कटान क्षेत्रलाई संरक्षण गर्न आवश्यक स्थानमा तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्ने, यस निर्वाचन क्षेत्र भित्र पर्ने विभिन्न स्थानमा आवश्यक मोटरेवल पुल तथा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने योजना समेटिएका छन् ।
कृषि, सिँचाई, खानेपानी, जलस्रोत तथा ऊर्जा अन्तरगत भूमिहीन, सुकुम्वासी, तथा अव्यवस्थित बसोवासीहरुको लामो समय देखि रहेको दीर्घकालीन समस्यालाई समाधान गर्न लालपुर्जा वितरणको कार्यलाई शीघ्र पहल गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि यस निर्वाचन क्षेत्र भित्र आवश्यक गौशालाको निर्माण गरी पशु चौपाया संरक्षण गर्न आवश्यक पहल गर्ने, कृषिमा प्राङ्गारिक मलको प्रयोगमा जोड दिन यस क्षेत्रको विभिन्न स्थानमा प्राङ्गारिक मल उत्पादन केन्द्रको स्थापनाका लागि पहल गर्ने, कृषिमा आधुनिकीकरण लागि यस क्षेत्रका कृषकहरूका लागि कृषि तालिम, उन्नत विंड, तथा यान्त्रीकरणमा जोड दिने, किसानहरूलाई आवश्यक पर्ने रासायनिक मलको उपलब्धताका लागि यस निर्वाचन क्षेत्रमा रासायनिक मलको उत्पादन केन्द्र स्थापना गर्न पहल गर्ने, चुरे गाउँपालिकालाई कफी, सुन्तला प्रजाति र अन्य नगदे बालीको पकेट क्षेत्रको रूपमा स्थापित गर्ने, तरकारी उत्पादनका लागि उपयुक्त स्थानमा तरकारी पकेट क्षेत्र बनाउन पहल गर्ने, शुद्ध खानेपानीलाई सर्व सुलभ बनाउन १ घर १ धाराको अभियान सञ्चालन गरी निर्माणको पहल गर्ने लगायतका योजना समेटिएका छन् ।
यस्तै औद्योगीकरण तथा रोजगार अन्तरगत कृषिमा आधारित अनिवार्य उद्योग र उद्योगमा आधारित अनिवार्य कृषिका लागि आवश्यक पहल गर्ने, यसअघि प्रतिनिधि सभा सदस्य वा मन्त्री रहँदा दीर्घकालीन वा अल्पकालीन योजनाको रूपमा प्रारम्भ गरेका योजनालाई पूर्णता दिई थप विस्तार स्तरोन्नति गर्ने प्रतिबद्धता गरिएको छ ।
जसअन्तरग गोदावरी नगरपालिका अन्तरगत रहेको हरैया औद्योगिक कोरिडोर, आयल निगम भण्डारण केन्द्र स्थापना तथा कृषि ज्ञान केन्द्र निर्माणको घोषणालाई कार्यान्वयन गरी अधिकतम रोजगारीका अवसरहरूको सिर्जना गर्न पहल गर्ने, आर्थिक समुन्नतिका लागि कृषिमा आधारित बजार व्यवस्थापन र कृषि उपज भण्डारणका लागि सित भण्डारण निर्माण गर्ने, गरिबीको रेखामुनि रहेका, दलित, पिछडिएका समुदायको आर्थिक समुन्नति र रोजगारीका लागि आवश्यक सीप मूलक तालिमहरूको सञ्चालन गर्न पहल गर्ने योजना समेटिएका छन् ।
धर्म, कला, संस्कृति तथा पर्यटन अन्तरगत गोदावरी धाम, चुरे ग्वासी समैजी धाम, मोहन्याल मन्दिर, मष्टा धाम, ग्वालादेउ धाम लगायत यस क्षेत्र भित्र पर्ने अन्य धार्मिक स्थलहरूलाई धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गर्ने, यस क्षेत्र भित्र रहेका थारु, मगर, र अन्य समुदायका सांस्कृतिक सम्पदाहरूको संरक्षण र सांस्कृतिक विविधतामा एकता झल्काउने सांस्कृतिक संग्राहलयको स्थापना गर्ने, विभिन्न स्थानमा रहेका होम स्टे हरुलाई सम्वद्र्धन गर्न पहल गर्ने, महिला सशक्तीकरणका कार्यक्रमहरूमा विशेष जोड दिने, स्थानीय स्तरमा रोजगारीका कार्यक्रमलाई विशेष जोड दिने, नायल ताल लगायत यस क्षेत्रमा रहेका ताल तलैयाहरुको संरक्षण तथा सम्वद्र्धन गर्न जोड दिने तथा ती स्थानहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन स्तरोन्नति गरी पर्यटक पर्यटनमा जोड दिने, गोदावरी–बुढी तोला केवल कार निर्माणका लागि आवश्यक पहल गर्ने र चुरेमा रहेको गर्भा दरवारको पुनः निर्माण गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्न पहल गर्ने योजना समेटिएका छन् ।
प्रतिबद्धता पत्रमा सुशासन र पारदर्शिताका लागि भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने, सेवा प्रवाहलाई छिटो छरितो तथा प्रभावकारी रूपमा कार्यान्वयनमा जोड दिने, जनप्रतिनिधि र जनता बिच नियमित संवाद तथा सार्वजनिक सुनुवाइ गर्ने र समावेशी नीतिलाई कार्यान्वयनमा जोड दिने योजना राखिएका छन् ।
भट्ट यस पटक कैलाली क्षेत्र नम्बर ४ मा दोहरिएर चुनाव लड्ने एक्ला उम्मेदवार हुन । उनी यसअघि २०६४ र २०७० मा नेकपा माओवादी, २०७४ मा नेकपा र २०७९ मा एमालेबाट चुनाव लडेका थिए । जसमध्ये २०६४ र २०७४ मात्रै उनी विजयी भएका थिए ।