आइतवार, बैशाख ६, २०८३

सुदूरपश्चिमभर थप प्रहरी परिचालन हुँदै, कहाँ कति खटाइए ?

धनगढी : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन सुरक्षार्थ थप प्रहरी परिचालन गरिएको छ।

सुदूरपश्चिममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट जिल्ला प्रहरी कार्यालय बझाङका लागि आजमात्रै प्रहरी निरीक्षकसहित ३० जनाको टोली खटाइएको हो।

निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन जिल्ला प्रहरी कार्यालयहरूमा मद्दत पठाउने क्रम जारी रहेको जनाइएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाटै ९ गते १५५ जना प्रहरी टोली अछाम जिल्लातर्फ परिचालन गरिएको थियो।

यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ४० जनाको प्रहरी टोली कैलाली जिल्ला र कञ्चनपुर जिल्लाका लागि अस्ति नै खटाइएको थियो। प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर रानाले आवश्यकता अनुसार अन्य प्रहरी टोलीहरू समेत क्रमशः जिल्ला प्रहरी कार्यालयहरूमा थप मद्दत पुर्‍याउन परिचालन हुने बताएका छन्।