नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र युवा संगठनद्वारा धनगढीका दुई धार्मिक स्थलमा सरसफाइ कार्यक्रम सम्पन्न
धनगढी — नेपाल मानव धर्म सेवा समिति अन्तर्गतको सेती क्षेत्र युवा संगठनले धनगढीस्थित दुई प्रमुख मन्दिरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
आइतबार धनगढीको नैनादेवी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो भने बुधबार वडा नम्बर ६ रघुनगर जालीस्थित विश्वनाथ मन्दिर मा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ।
सेती क्षेत्र प्रमुख महात्माश्री क्षमा बाइजीको प्रमुख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सेती क्षेत्र युवा संगठन संयोजक नमिता हमाल, युवा संगठनका सदस्यहरू तथा स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महात्माश्री क्षमा बाइजीले धार्मिक स्थलको संरक्षण र सरसफाइ सबैको साझा जिम्मेवारी भएको बताइन्। उनले भनिन्,
“मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, यो हाम्रो आस्था, संस्कार र सामाजिक एकताको प्रतीक हो। धार्मिक स्थल सफा राख्नु भनेको हाम्रो मन र समाजलाई पनि शुद्ध राख्नु हो। युवा पुस्ताले यस्तो सकारात्मक कार्यमा अग्रसर हुनु अत्यन्त प्रशंसनीय छ।”
उहाँले आगामी दिनहरूमा पनि सामाजिक तथा धार्मिक क्षेत्रको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
युवा संगठनले समाजमा सचेतना अभिवृद्धि गर्दै वातावरण स्वच्छ राख्न र धार्मिक स्थलहरूको संरक्षण गर्न निरन्तर अभियान सञ्चालन गर्ने जनाएको छ।