शनिबार, बैशाख ५, २०८३

आशिका तामाङको उम्मेदवारी खारेज हुने भन्दै भ्रम फैलाएको प्राइम टिभीले माफी माग्यो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारीका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्राइम टेलिभिजनले माफी मागेको छ । आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै उक्त मिडियाले असावधानीवश प्रसारित भएको भन्दै क्षमायाचना गरेको हो ।

“धादिङ क्षेत्र नम्बर १ कि उम्मेद्वार आशिका तामाङका बारेमा असावधानीवस गएको समाचार हटाएको जानकारी गराउँछौ । यसले सम्बन्धित उम्मेदवार एवं उहाँका समर्थकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौं,” पोस्टमा भनिएको छ ।

यसअघि बुधबार नै प्राइम टिभीसहित केही सामाजिक सञ्जाल प्रयोगकर्ताले तामाङले जर्मनीको पीआर (स्थायी आवासीय अनुमति) लिएको दाबी गर्दै उनको उम्मेदवारी खारेज हुने सामग्री फैलाएका थिए ।

यद्यपि, निर्वाचन आयोगले तामाङविरुद्ध कुनै पनि उजुरी नपरेको र उम्मेदवारी खारेजीको कुरा पूर्ण रूपमा गलत भएको स्पष्ट पारिसकेको छ । आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले उजुरी नै नपरेको अवस्थामा उम्मेदवारी खारेजीको प्रश्न नै नउठ्ने बताइन् ।