आइतवार, बैशाख ६, २०८३

धनगढीमा निर्वाचन आचारसंहिता उल्लङ्घन ? मदिरा बिक्री खुल्ला, प्रहरी मौन बसेको आरोप

धनगढीमा निर्वाचन आचारसंहिता उल्लङ्घन ?
मदिरा बिक्री खुल्ला, प्रहरी मौन बसेको आरोप
धनगढी — निर्वाचनको समयमा मदिरा बिक्री–वितरणमा रोक लगाइएको भए पनि धनगढी उपमहानगरपालिका भित्रका विभिन्न होटल तथा पसलहरूमा खुलेआम मदिरा बिक्री भइरहेको सूचना प्राप्त भएको छ।
प्रशासनले निर्वाचन आचारसंहिता लागू गर्दै मदिरा बिक्रीमा रोक लगाएको घोषणा गरे पनि व्यवहारमा भने सो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ। स्थानीय स्रोतका अनुसार अधिकांश होटल तथा पसलहरूमा मदिरा बिक्री–वितरण जारी रहेको र सर्वसाधारणले खुलेआम सेवन गरिरहेको अवस्था छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कैलाली ले मदिरा बिक्रीमा रोक लगाएको सूचना सार्वजनिक गरे पनि अनुगमन तथा कारबाही प्रभावकारी नभएको गुनासो उठ्न थालेको छ। हालसम्म मदिरा बिक्री गरेको आरोपमा कुनै होटल वा पसललाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी प्राप्त भएको छैन।
त्यसैगरी कैलाली जिल्ला प्रहरी कार्यालय ले पनि यस विषयमा कडा निगरानी नगरेको आरोप लागिरहेको छ। निर्वाचन जस्तो संवेदनशील समयमा मदिरा बिक्री–वितरणले शान्ति सुरक्षा व्यवस्थामा असर पार्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी रहेको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमनमा थप सक्रियता आवश्यक रहेको देखिन्छ।