शेरबहादुर ऐर
धनगढी– कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ । तर, मंगलबार प्रतिनिधि सभा निर्वाचनको रौनकता, उत्साह देखिन सकिएन । कारण थियो –‘निर्वाचन कार्यालयको कमी कमजोरी ।’ फागुन २१ गते भएको निर्वाचन मिति तोकिएको भएपनि निर्वाचन व्यवस्थापन फितलो झै देखियो । कैलालीमा यहाँ कुल मतदानको ५५ दशमलब चार प्रतिशत मात्र मतदाता सहभागिता भए ।
विगतका निर्वाचनको तुलनामा यस निर्वाचनमा केही मतदाताहरुले बहिष्कार अभियाननै जारी गरेका थिए भने केही मतदाताहरु रोजगारीका लागि बाहिर रहेका कारण सहभागि हुन सकेनन । मतदान स्थलहरुमा ज्येष्ठ नागरिक, राजनीतिक दलका सक्रिय नेता तथा केही युवायुवती र महिलाहरुको सहभागिता देखिन्थ्यो । तर, विगतका जसरी युवा सहभागिता यस निर्वाचनमा उत्साह थिएन । ज्येष्ठ नागरिक पनि असहज यातायात पहुँचका कारण मतदानस्थलमा देखिएनन ।
सबै भन्दा बढी मतदाता रहेको कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । एक लाख १० हजार पाँच सय ४९ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार एक सय पाँच मत खसेको जनाइएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का मतदाता राम शर्मा भन्छन –‘ज्येष्ठ नागरिकहरु सवारी यातायाताको व्यवस्था नहुँदा मतदान स्थल पुग्न सकेका छैन । युवाहरु न्युन रहेका छन । अहिले रोजगारीको मौसम हो । धेरै युवा भारतमा रहेका छन । तर, होली लगायतका पर्व मनाउन आएका युवाहरु मतदानमा भाग लिएका छन ।’
मतदान केन्द्र प्रवेश गर्दा फरक दृष्य थियो –‘मतदान गर्न आएका युवायुवती तथा २०६४ सालमा मतदान गरेका व्यक्तीहरुको मतदाता परिचयपत्र पनि थिएन भने मतदाता नामावलीमा पनि नाम थिएन ।’ धनगढी १ को मतदान स्थल त्रिनगर माध्यामिक विद्यालयमा पुगेकी सगिता श्रेष्ठले २०७९ को निर्वाचनमा मतदान गरेकी थिइन । तर, बाहिर आफनो मतदाता नामावलीमा नाम रहेको–नरहेकोबारे लिष्ट हेर्दा नाम भेटिनन । उनी मतदान गर्न इच्छुक थिइन तर, नामावलीमा नाम नहुँदा मतदान नगरि फर्कन बाँध्य थिइन ।
उनीमात्र नभई २०७९ सालको निर्वाचनमा मतदान गरेका मतदाताहरु मतदान नगरि फर्कन बाँध्य भए । उनीहरु भनिरहेका थिए –‘मैले २०७९ सालको निर्वाचनमा मतदान गरेको थिए । अहिले किन नाम समावेश भएन ।’
हामीले उनको नामावली निर्वाचन कार्यालयको आधिकारिक अनलाइन पोर्टलमा खोज्दा समेत भेटिन । तर, उनले आफुले मतदान गर्न पाउनुपर्ने दाबी गरिरहेकी थिइन । उनको मतदाता नामावलीमा नाम नभएपछि हामीले पनि उनलाई मतदान गर्न दबाब दिन सकेनौं ।
मतदाता नामावलीमा नाम समावेशमात्र नभई थुप्रै मतदाताहरु आफनो निर्वाचन आयोगले प्रदान गर्ने परिचय पत्र र नागरिकता घरभन्दा टाढा क्षेत्र राखेका कारण पनि मतदान गर्न सकेनन । काठमाडौबाट फर्केका सिता विसीले काठमाडौंमा नागरिकता भुल्दा यहाँ मतदान गर्न पाएनन । उनले भने –‘मतदाता नामावलीमा नाम समावेश छ । तर, मैले नागरिकता र मतदाता परिचयपत्र काठमाडौंमै भुले । मोबाइल मतदान केन्द्रमा प्रतिवन्ध छ । नागरिकताको फोटोकपी गरेर देखाउँदा पनि अन्य दलले आपत्ती जनाउँदा मतदान गर्न पाइन ।’
यस्तै, कैलाली क्षेत्र नम्बर १ मा ५४ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ५९ हजार ६१ मत खसेको जनाइएको छ । यहाँ एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन ।
कैलाली क्षेत्र नम्बर २ मा एक लाख सात हजार सात सय ५७ मतदाता रहेकोमा ५६ हजार सात सय ७० (५२.७ प्रतिशत) मत खसेको छ ।
कैलाली क्षेत्र नम्बर ३ मा ६० हजार दुई सय ९४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ कुल मतदाता एक लाख नौ हजार एक सय २२ मतदाता रहेका छन ।
कैलाली क्षेत्र नम्बर ४ मा एक लाख १५ हजार एक सय ४३ मतदाता रहेकोमा ६३ हजार ३४ मत खसेको छ ।
कैलालीको गोदावरीमा चुनावी हिंसाः मेयर भट्टमाथि गाली–गलौच, वडा अध्यक्ष शाहीमाथि सांघातिक आक्रमण
गोदावरी नगरपालिका–१० स्थित शंकर आधारभूत विद्यालयको मतदान केन्द्र अगाडि प्रतिनिधि सभा निर्वाचनको क्रममा नेकपा एमालेका केही कार्यकर्ताद्वारा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट माथि गाली–गलौच र वडा न १० का वडा अध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ माथि सांघातिक आक्रमण भएको छ। घटना पछि वातावरण तनावपूर्ण बनेको थियो ।
नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले यस कायरतापूर्ण र हिंसात्मक कार्यलाई घोर निन्दा गर्दै लोकतन्त्रको आधारमा गम्भीर प्रहार भएको बताए । उनले घाइते वडा अध्यक्षको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गरे ।
उम्मेदवार आनन्दले भने, ‘लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण मतदान र मताधिकारको सम्मान अनिवार्य छ । हिंसा, धम्की वा आक्रमणले लोकतन्त्र कमजोर पार्न सक्दैन । हामी सधैं विधि, लोकतन्त्र र नागरिकको अधिकारको रक्षा गर्न दृढतापूर्वक उभिनेछौं ।’
स्थानीय प्रशासनसँग उनले भविष्यमा यस्ता हिंसात्मक घटना नदोहोरिने सुनिश्चितता गर्न आग्रह गर्दै निर्वाचनको वातावरण सुरक्षित राख्न जोड दिए ।
उक्त घटनाले निर्वाचन क्षेत्रमा कानून र लोकतन्त्रको सम्मान कति महत्वपूर्ण छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ । निर्वाचनमा नागरिकको सहभागिता र मताधिकारको संरक्षण लोकतन्त्रको मूल आधार भएकाले यस्ता अमानवीय कार्यलाई कहिल्यै सहन नहुने उनले बताए ।
गोदावरी निर्वाचन क्षेत्रका मतदानकर्मी, नेता र नागरिकबीच तनावपूर्ण परिस्थितिमा पनि मतदान प्रक्रिया निरन्तर जारी रहेको छ, र प्रशासनले सुरक्षा र सुव्यवस्था कायम राख्न विशेष ध्यान दिएको छ ।
कैलालीमा मतदान गर्न जाने क्रममा दम्पती कुटिए
कैलालीको निर्वाचन क्षेत्र नम्बर ४को गोदावरी नगरपालिका– १ मा २ जनामाथी कुटपिट भएको छ । बिहिबार मतदान गर्न जाने बेला स्थानिय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो ।
निर्वाचनका लागि मतदान गर्न श्रीमानश्रीमती सँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए । उनले वडा नं १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए ।
बाजुरामा पहिलोपटक शान्तिपुर्ण निर्वाचन
बाजुराको इतिहासमा पहिलोपटक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । यो पटकको चुनावमा सामान्य झड्प विवाद समेत नभएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।
बाजुरामा ८७ हजार ८ सय ६१ जना कुल मतदाता मध्ये यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो समाचार तयार पार्दासम्म प्रशासनसँग उपलब्ध तथ्याङ्कअनुसार ४४ हजार ७७३ जनाले मतदान गरेका छन् । २०४८ सालपछि बाजुराबासीले आफ्नो भोट आफै हाल्न पाएका छन् । कुनै भयरहित वातावरणमा मतदान हाल्न पाएकोमा बाजुराबासीले खुशी व्यक्त गरेका छन् । जिल्लाका ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्रका सबै मतदान केन्द्रमा विवादरहीत र शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका छन् । उनले भने, “राजनीतिक दलको प्रतिवद्धता, मतदाता, सरोकारवाला निकाय, सञ्चारकर्मीको सहयोग, स्थानीय प्रशासन तथा न्याय प्रशासनको कटिबद्धता सहित हामी सबैको प्रयासले शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भयौ ।” सुरक्षाको हिसाबले बाजुरा जिल्ला अतिसंवेदनशील जिल्लाका रुपमा रहेको थियो ।
गत २०७९ मंसिर ४ मा भएको संघ र प्रदेशको चुनावमा त्रिवेणी नगरपालिका ७ मा २ जनाको मृत्यु भएको थियो । त्यो बेलाको चुनावमा २५ भन्दा बढी मतदान केन्द्रमा झडप सँगै फर्जी मतदान भएको थियो । त्यहि बर्षको स्थानिय चुनावमा बुढिगंगा नगरपालिकामा दास्रो पटक चुनाव भएको थियो ।
बाजुरा सधै झगडा लफडाको जिल्लाको रुपमा बाहिर प्रचार रहेको थियो, यो पटक भने शान्त रुपमा मतदान सम्पन्न भएको शिक्षक डम्बर सिंहले बताएका छन् । उनले भने बुढिगंगा ९ मा रहेको मतदान केन्द्रमा प्राय चुनावमा झगडा हुने गरेको थियो, यो पटक भने केही नभएको सबैले स्वतन्त्र रुपमा मतदान गरेको सिंहले बताए ।
मुख्य निर्वाचन अधिकृत सञ्जिव पोखरेलले भने सबैको साथ सहयोगले बाजुरामा शान्तिपुर्ण रुपमा मतदान गर्न सफल भएको बताए । बाजुराबासी सबै, राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार र निर्वाचनमा खटिएका कर्मचारीको साथ सहयोगले बाजुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको पोखरेलले बताए ।
बाजुरा सुरक्षाको हिसाबले निकै जोखिम जिल्लाका रुपमा पहिचान बनेको थियो । सुरक्षा रणनीति पनि त्यहीँ अनुसार बनाएर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन भएका थिए । सेनाले हेलिकप्टरबाट अनुगमन, ड्रोनबाट अनुगमन र केही मतदान केन्द्रमा सिसी क्यामरा समेत जडान गरिएको थियो ।
जोखिमको मध्यनजर गरेर जिल्लामा सुरक्षा व्यवस्थापन मिलाएका थियौ, कुनै ठाउँमा पनि विवाद नभएर यो पटक विवाद रहित चुनाव सम्पन्न भएको नेपाली सेनाका मेजर तथा ईश्वर बक्स गुल्मका गुल्मपति कृष्ण तिमिल्सिनाले वताए । कुनै ठाउँमा सामान्य लठ्ठी चार्ज समेत नभएको र हवाइ फायर समेत गर्नुपर्ने अबस्था सिर्जना नभएको मेजर तिमिल्सिनाले बताए । केही दिन पहिला गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बाजुरा पुगेका थिए ।