धनगढी– गौरिगंगा नगरपालिका–८, लम्कीस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको शिक्षक दरबन्दी परिवर्तन गरिएको विषयमा सरोकारवालाहरूले आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नगरपालिकाले रिक्त रहेको सामाजिक विषयको दरबन्दीलाई परिवर्तन गरी नेपाली विषयमा विज्ञापन खुलाएको विषयमा असन्तुष्टि जनाइएको हो । उक्त निर्णयले आवश्यक अन्य विषयलाई उपेक्षा गरिएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको जनाइएको छ ।
पत्रमा सत्यतथ्य जानकारी सार्वजनिक गर्दै आवश्यक प्रक्रिया अघि बढाउन माग गरिएको छ । साथै, उक्त निर्णयलाई वेवास्ता गरी एकलौटी रूपमा प्रक्रिया अगाडि बढाइएमा थप विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी पनि दिइएको छ ।
ध्यानाकर्षण पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति आशिष सिंह, नेपाली कांग्रेसका नगर सचिव दिनेश केरेल र नेकपा (एमाले)का नगर उपाध्यक्ष रोहित प्रसाद भाटको संयुक्त हस्ताक्षर रहेको छ । उक्त पत्र जिल्ला शिक्षा समन्वय इकाइ कैलाली, गौरिगंगा नगरपालिकाको कार्यालय चौमाला तथा सम्बन्धित विद्यालयलाई बोधार्थ दिइएको छ ।