बौनिया- सन्त निरंकारी मिसनले नेपालमा पहिलोपटक प्रादेशिक सन्त समागम गर्ने भएको छ । आध्यात्मिक विचारधाराका माध्यमले मानव सेवा, एकता र विश्व बन्धुत्वको भावना जागृत गर्दै आएको मिसनले प्रादेशिक नारी सन्त समागम गर्न लागेको हो ।
नेपालका कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा विशाल सन्त समागम गर्न लागिएको शनिबार बौनियामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सुदूरपश्चिम र मधेस प्रदेशमा यही चैत १३ गते प्रादेशिक सन्त समागम हुनेछ । त्यस्तै, कर्णाली र कोशी प्रदेशमा चैत १४ आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।
सो अवसरमा सन्त निरंकारी मण्डलका नेपाल प्रमुख नरबहादुर रावलले मिसन कुनै जाति, धर्म र सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा भएको बताए । उनले मिसनको उद्देश्य नै शान्ति, सद्भाव, सामाजिक एकता र मानव सेवा गर्नु रहेकोे उल्लेख गरे ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमले महिला सशक्तीकरणमा वृद्धि भइ समाजमा शान्ति र एकताको सन्देश प्रवाह हुने उनले विश्वास व्यक्त गरे । प्रादेशिक नारी सन्त समागममा आध्यात्मिक प्रवचन, भजनकीर्तन र नारी सशक्तिकरणका विविध विषयमा चर्चा हुने सन्त निरंकारी मण्डल नेपालका सचिव अनिल महर्जनले जानकारी दिए ।
उनका अनुसार यस कार्यक्रमले समाजमा विद्यमान जाति, धर्म र नस्लका सङ्कुचित घेरालाई तोड्दै एउटै ईश्वरका सन्तानका रूपमा मानवतालाई जोड्ने लक्ष्य लिएको छ । नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको बौनियामा आयोजना हुने कार्यक्रममा मुख्य आकर्षणका रुपमा ब्रम्हज्ञान प्रचारक डा.रीता यादवको आगमन हुने आयोजकले जानकारी दिएको छ । आध्यात्मिक विचार धाराको माध्यमबाट मानवमा संस्कारी र चरित्रवान बनाउन पनि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ ।