शनिबार, बैशाख ५, २०८३

काँग्रेस उम्मेदवार ‘मनु’ले यथार्थ सार्वजनिक नगरे कानुनी उपचारमा जान्छु : आले

धनगढी, ९ चैत / कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका प्रेमबहादुर आलेले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘कैलाली– ५ को मतपरिणामलाई स्वीकार गरि सम्पूर्ण मतदातालाई धन्यवाद तथा निर्वाचित उम्मेदवारलाई समेत बधाई दिएको कुरा सार्वजनिक रूपमा अवगत भएकै थियो,’ उनले भनेका छन्, ‘तर हाल सामाजिक सञ्जालमार्फत कांग्रेस उम्मेदवार शाहले ५७ जना कांग्रेसीले पैसा खाएको भन्दै मैले नामावली उपलब्ध गराएको भन्ने भ्रामक, कपोकल्पित र आधारहीन दुष्प्रचार कार्यप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

मनुले जनताको फैसला स्वीकार गर्नुको सट्टा असत्य, मनगढन्ते र आधारहीन कुरा गरि आफ्नो चरित्र हत्या गर्ने कार्य गरेको आरोप आलेको छ । ‘म विगतदेखि डोटी जिल्लाबाट २०६४, ०७०, ०७४ र ०७९ को संसदीय चुनाव लड्दै आएको व्यक्ति हुँ,’ आलेले भने, ‘ हाल कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिँदै गर्दा यहाँका कांग्रेसीका स्थानीय नेताहरूसँग मेरो सामान्य चिनजान समेत न्यून रहेको अवस्था छ । यस्तो अवस्थामा ५७ जनाको नामावली उपलब्ध गराएको भन्ने कुरा शतप्रतिशत झुटो, भ्रम फैलाउने र समाजलाई भाँडने प्रयास मात्र हो ।’

यस्ता आरोपमार्फत आफ्नो राजनीतिक छवी धुमिल पार्ने प्रयास भएको आलेले बताएका छन् । ‘नेपाली कांग्रेसका उम्मेदवार मनुका अभिव्यक्तिप्रति खुला चुनौती दिन चाहन्छु।  यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न चुनौती दिन्छु,’ उनले भनेका छन्, ‘अन्यथा यस्ता झुटा आरोप फैलाउनेहरूमाथि म कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु । सत्यतथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैलाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।’