शनिबार, बैशाख ५, २०८३

कञ्चनपुरको मोहना नदीमा पुनः अवैध उत्खनन: जनप्रतिनिधि र ठेकेदारबीच टकराव, स्थानीयमा डुबानको चिन्ता

कञ्चनपुरको मोहना नदीमा पुनः अवैध उत्खनन: जनप्रतिनिधि र ठेकेदारबीच टकराव, स्थानीयमा डुबानको चिन्ता
धनगढी –
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट स्थित मोहना नदीमा अवैध उत्खनन पुनः सुरु भएको विषयले स्थानीय तहमा गम्भीर चिन्ता उत्पन्न गरेको छ।
वडाध्यक्ष कैलाश बलायर का अनुसार आफूले ठेक्का रोक्न पहल गरे पनि ठेकेदारले अटेर गर्दै पुनः उत्खनन जारी राखेको बताएका छन्। उनका अनुसार राजघाटस्थित नदी किनारमा आईईई (Initial Environmental Examination) नगरी स्काभेटर प्रयोग गरेर धमाधम  बालुवा निकाल्ने काम भइरहेको छ। 
विशेषगरी मोहना पुल आसपास क्षेत्रमा मापदण्डविपरीत उत्खनन भइरहेको बताइएको छ। उक्त नदीजन्य पदार्थ उत्खननको ठेक्का साउन महिनामा लगाइएको थियो, जसको जिम्मा यमुना निर्माण सेवा ले पाएको जनाइएको छ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्ट ले भने मापदण्डविपरीत भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाएका छन्। उनले भोलि नै अनुगमन टोली खटाएर छानबिन गरी आवश्यक कारबाही गरिने बताएका छन्।
तर, यस विषयमा थप जानकारी लिन खोज्दा नगर प्रमुख, उपप्रमुख तथा इन्जिनियर सम्पर्कमा नआएको गुनासो पनि गरिएको छ। स्रोतका अनुसार केही वन समिति र स्थानीय जनप्रतिनिधिहरूले आर्थिक लाभ लिएर अवैध उत्खनन गराइरहेको आरोप समेत लागेको छ।
अवैध उत्खननका कारण मोहना नदीको धार परिवर्तन भई आसपासका बस्ती डुबानमा पर्ने जोखिम बढेको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्। यो घटनाले स्थानीय तहमा नियमनको कमजोरी, वातावरणीय प्रभावप्रति बेवास्ता तथा सम्भावित मिलेमतोको प्रश्नलाई फेरि उजागर गरेको छ।