शनिबार, बैशाख ५, २०८३

कैलालीका ट्राफिक प्रहरी हवलदार विष्ट, जसले समुदायकाे सहयाेगमा कार्यालय भवन ठड्याए

धनगढी । कैलालीकाे गाेदावरी नगरपालिका-८ स्याउलेकाे अस्थायी ट्राफिक प्रहरी विटकाे नवनिर्मित भवनकाे साेमबार भव्य उद्घाटन भयाे ।

स्थानीय समुदाय र सुर्याेदय सामुदायिक वनकाे सहयाेगमा आठ लाख ८१ हजारकाे लागतमा निर्माण भएको दुई काेठे भवनकाे सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले उद्घाटन गरेका थिए ।

स्याउले क्षेत्रका अगुवा व्यक्ति, स्थानीय व्यापारी, विभिन्न संघसंस्थाकाे आर्थिक सहयाेगमा बनेकाे अस्थायी ट्राफिक  विटकाे भवनमा सरकारी लगानी भने शून्य छ ।

सुर्याेदय सामुदायिक वन उपभोक्ता समितिले प्रहरी विटलाई पाँच कठ्ठा जग्गा चलन भाेगका लागि दान गरेपछि याे सम्भव भएको हाे ।

याे कार्यकाे अगुवाइ भने अस्थायी ट्राफिक पाेष्टका इन्चार्ज समेत रहेका प्रहरी हवलदार वीरबहादुर विष्टले गरेका थिए ।
स्थानीय समुदायलाई विश्वासमा लिएर कार्यालय भवन निर्माण गरेपछि उनकाे कार्यकाे कदर गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले नगदसहित विष्टलाई पुरस्कृत गरेकाे छ।

ट्राफिक प्रहरीका प्रमखु प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले विष्टकाे कामकाे मूल्यांकन गर्दै रेकर्डमा अभिलेख रहनेगरि नगद राशिसहित उनलाई पुरस्कृत गरिएको बताए ।
भवन उद्घाटन कार्यक्रममा डीआईजी ओमबहादुर रानाले विष्टलाई सम्मानसहित पुरस्कार दिएका थिए ।

डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ बेलापुर घर भएका विष्ट नेपाल प्रहरीमा २० वर्षकाे सेवा अवधि पूरा गरिसकेका छन् ।
प्रहरी जवानबाट उनी सेवामा प्रवेश गरेका थिए ।

संगठनमा सर्वाेत्कृष्ट कार्य गरेवाफत उनी विभिन्न समयमा पुरस्कारसहित सम्मानित हुँदै आएकाे प्रहरी कर्मचारी भएको पाइएकाे छ ।

२२ साउन २०८० मा कैलालीकाे बुढीताेलामा सडक भासिएकाे घटनामा यात्रु र सवारीसाधन व्यवस्थापनमा उत्कृष्ट कार्य गरेकाे भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पुरस्कृत गरेकाे थियोे ।

यसअघि स्याङ्जास्थित वडा प्रहरी कार्यालय वालिङमा कार्यरत छदा पनि उनलाई संगठनले पुरस्कृत गरेकाे थियाे भने तत्कालीन अञ्चल प्रहरी कार्यालय कर्णालीले समेत उत्कृष्ट कार्य गरेवाफत पुरस्कृत गरेकाे थियाे ।

संगठनले उनलाई सबैपटक अभिलेखमा जनिनेगरि नै पुरस्कार दिएकाे थियाे । नेपाल प्रहरीका धेरैजसाे इकाईहरू कार्यालय भवन अभावका कारण खुला आकाश मुनि बसेर सेवा गर्न बाध्य भएका छन् ।

भवन भएका ठाउँमा समेत जीर्ण अवस्थाका कारण जाेखिममा काम गर्नुपर्ने बाध्यता छ । यस्ताे बेला समुदायस्तरबाट सहयाेग संकलन गरेर अस्थायी ट्राफिक प्रहरी पाेष्ट स्याउलेले उदाहरणीय काम गरेकाे प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाही बताउँछन् ।