शनिबार, बैशाख ५, २०८३

कैलाली र कञ्चनपुरमा क्षयरोगी उच्च, नियन्त्रणमा चुनौती कायमै

धनगढी । सुदूरपश्चिम प्रदेशमा क्षयरोग (टिबी) नियन्त्रणका लागि प्रयास भइरहे पनि कैलाली र कञ्चनपुरमा अझै उच्च जोखिम कायम रहेको देखिएको छ। स्वास्थ्य निर्देशनालय, डोटीको तथ्यांक अनुसार प्रदेशका नौ जिल्लामध्ये वर्षेनी सबैभन्दा बढी क्षयरोगी यी दुई जिल्लामै फेला पर्ने गरेका छन्।

निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा प्रदेशभर क्षयरोगीको संख्या बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा २,८२६ जना रहेका बिरामी संख्या २०७८/७९ मा ३,४२४ पुगेको थियो भने २०७९/८० मा ३,२१४, २०८०/८१ मा ३,६१८ र २०८१/८२ मा ३,६४८ जना क्षयरोगी भेटिएका छन्।  चालु आर्थिक वर्षको माघ मसान्तसम्म मात्र १,८४० जना बिरामी पहिचान भइसकेका छन्, जसमा कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ जना रहेका छन्। अन्य जिल्लाहरूमा भने तुलनात्मक रूपमा कम बिरामी फेला परेका छन्। डोटीमा ७८, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना बिरामी रहेको तथ्यांकमा उल्लेख छ।

स्वास्थ्य निर्देशनालयका एचआइभी तथा क्षयरोग फोकल पर्सन मनोज ओझाका अनुसार प्रदेशमा क्षयरोगबाट हुने मृत्यु दरमा उल्लेख्य कमी आउन सकेको छैन। उनका अनुसार हरेक वर्ष प्रति लाख जनसंख्यामा करिब ५५ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको छ। चालु आर्थिक वर्षमा मात्रै ६५ जनाको मृत्यु भइसकेको छ भने अघिल्ला वर्षहरूमा पनि मृत्यु दर उच्च नै रहेको देखिन्छ।

तथ्यांकले सुदूरपश्चिममा प्रत्येक वर्ष दुई हजारभन्दा बढी नयाँ क्षयरोगी थपिने गरेको देखाएको छ। गत आर्थिक वर्षमा मात्र ३,६४८ नयाँ बिरामी फेला परेका थिए, जसमा सबैभन्दा बढी कैलालीमा १,५१३ र सबैभन्दा कम बाजुरामा १४१ जना रहेका थिए। कोभिड–१९ पछिका वर्षहरूमा लक्षित संख्याअनुसार बिरामी पहिचान हुन नसक्दा समस्या झन् बढ्दै गएको ओझाले बताए।

प्रदेशका ८८ स्थानीय तहमध्ये पाँच पालिकामा क्षयरोगको दर उच्च रहेको निर्देशनालयले जनाएको छ। बाजुराको बडिमालिका नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, कञ्चनपुरको दोधार–चाँदनी, बेलडाँडी र लालझाडी गाउँपालिकामा उच्च बिरामी दर देखिएको छ। कैलालीमा धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ४२९ जना बिरामी रहेका छन् भने मोहन्यालमा सबैभन्दा कम २२ जना छन्। कञ्चनपुरमा भीमदत्त नगरपालिकामा २२६ जना र बेलडाँडीमा ५१ जना बिरामी रहेका छन्।

बाजुरा अझै क्षयरोग मुक्त अभियानबाट बाहिर
सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुरामा अझै क्षयरोग मुक्त अभियान लागू हुन सकेको छैन। देशभर ११ जिल्लामा यो अभियान कार्यान्वयन हुन नसकेकोमा सुदूरपश्चिममा बाजुरा मात्र बाँकी रहेको निर्देशनालयले जनाएको छ। हालसम्म प्रदेशका १९ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालनमा रहेको छ।

नेपाल सरकारले सन् २०५० सम्म प्रति १० लाख जनसंख्यामा एक जनाभन्दा कम क्षयरोगी बनाउने लक्ष्य लिएको छ। यसका लागि सक्रिय खोज, एचआइभी तथा एमडीआर क्षयरोग नियन्त्रण, बालबालिकामा क्षयरोग पहिचान र निजी–सरकारी सहकार्यलाई प्राथमिकतामा राखिएको छ।

कैलालीमा चुनौती झन् जटिल
कैलालीमा मात्र हरेक वर्ष १,२०० देखि १,३०० नयाँ बिरामी फेला पर्ने गरेका छन् भने ५० देखि ६० जनासम्मको मृत्यु हुने गरेको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार जनसंख्या चाप, बसाइँसराइ, खुला सीमा, गरिबी र जनचेतनाको अभावका कारण नियन्त्रणमा कठिनाइ भइरहेको छ।

उनका अनुसार धेरै बिरामी उपचार बीचमै छोडेर रोजगारीका लागि भारत जाने प्रवृत्तिले पनि समस्या थपिएको छ। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश मलासीले उपलब्ध स्रोत र संरचनाबाट उपचार तथा परीक्षण सेवा विस्तार गरिएको र प्रभावित क्षेत्रमा थप चेकजाँच बढाइएको बताए।