धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिका पदाधिकारीहरूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्र भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष बलराम जैशी भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै सदस्यहरू दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। 
कार्यक्रममा नवआगन्तुक पदाधिकारीहरूलाई अस्पताल प्रशासनले टीका, खादा र मालाले स्वागत गरेको थियो।
कार्यक्रममा बोल्दै निमित्त मेसु डा. भट्टले अस्पतालको वर्तमान अवस्था र सेवाबारे जानकारी गराएका थिए। उनले अस्पताललाई सरकारले ५० शैयाको स्वीकृति दिएको र व्यवस्थापन समितिबाट थप ७५ शैया विस्तार गरिएको जानकारी दिँदै हाल ३२५ शैया सञ्चालनमा रहेको बताए। 
अस्पतालले डायलाइसिस, पिडियाट्रिक सर्जरी, न्युरो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी तथा ढाडसम्बन्धी जटिल उपचार सेवा प्रदान गर्दै आएको उनले बताए। उच्च बिरामी चापका कारण बेड अभाव रहेको उल्लेख गर्दै उनले अस्पतालमा आफ्नै फार्मेसी, लण्ड्री, सरसफाइ तथा बायोमेडिकल जस्ता सहायक सेवा विभागहरू सञ्चालनमा रहेको जानकारी दिए। 
उनका अनुसार अस्पतालमा दक्ष मानव स्रोत उपलब्ध रहेको र विभिन्न तालिम कार्यक्रमहरू, विशेषगरी सिजेरियन सेक्सनसम्बन्धी तालिमसमेत प्रदान गरिँदै आएको छ। उनले व्यवस्थापन समिति नहुँदा विभिन्न समस्या समाधानमा कठिनाइ भएको उल्लेख गर्दै अब नयाँ टोलीसँग सहकार्य गरी सेवा सुधारमा सहजता आउने विश्वास व्यक्त गरे। साथै बिरामीमैत्री सेवा प्रवाह र गुनासो न्यूनीकरणमा जोड दिएका थिए। 
कार्यक्रमका प्रमुख अतिथि तथा व्यवस्थापन समिति अध्यक्ष बलराम जैशी भट्टले आफू धनगढीकै बासिन्दा भएको र अस्पतालका समस्या नजिकबाट बुझेको बताए। उनले अस्पताल सञ्चालनमा हस्तक्षेप गर्नेभन्दा सुधार र भौतिक विकासमा सहयोग गर्ने उद्देश्यले आफूहरू आएको स्पष्ट पार्दै कर्मचारीहरूको सुझावअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अस्पतालका समस्या समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए। 
कार्यक्रमपछि पदभार ग्रहण गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिम अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख वरिष्ठ रेडियोलोजिस्ट डा. निरज अर्याल, अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदिप मिश्र, साथै अस्पतालका अन्य चिकित्सक, कर्मचारी, स्टाफ नर्स तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।