शनिबार, बैशाख ५, २०८३

दार्चुलास्थित दुम्लिङमा महाकालीको तुइन तर्दा २३ जनाको ज्यान गुम्यो

दार्चुला:  दार्चुलाको दुम्लिङ क्षेत्रमा महाकाली नदीमा तुईन (डोरीबाट झुन्डिएर नदी पार गर्ने माध्यम) तर्दा ज्यान गुमाउनेको संख्या २३ पुगेको विवरण सार्वजनिक भएको छ। स्थानीय स्तरमा संकलित तथ्यांकअनुसार २०५० सालदेखि अहिलेसम्म  तुइन प्रयोगका क्रममा यस्ता दुःखद घटना दोहोरिँदै आएका छन्।
प्राप्त विवरणअनुसार मृत्यु हुनेहरूमा महिला, पुरुष तथा बालबालिका समेत रहेका छन्। अधिकांश घटना जोखिमपूर्ण तुइन प्रयोग, कमजोर संरचना तथा नदीमा पानीको बहाव बढेका बेला पार गर्न खोज्दा भएको जनाइएको छ।

व्याँस गाउँपालिका वडा नम्बर २ स्थित दुम्लिङमा स्थानीय सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, विनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी, बरुसिंह बुढाथोकी, विमला जोहारीको ज्यान गुमेको छ। उनीहरू सबै व्याँस-२ दुम्मिङका स्थानीय भएको दार्चुलाका चक्रबहादुर बमले बताए।

तुइन तर्ने क्रममा ज्यान गुमाउनेमा महिमन गर्व्याल, सिन्दल भण्डारी, सचिन बुढाथोकी, नारायण बुढाथोकी, जसपाल लोहार, भवानसिंह कुँवर, किम्मा धामी, देवसिंह धामी, ईन्द्रसिंह धामी, भुपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, वसन्ती कामी, रोहित कामी र जयसिंह धामी रहेका छन्।

स्थानीय बासिन्दाले महाकाली नदी वारपार गर्न अझै सुरक्षित पुलको अभाव रहेको गुनासो गर्दै आएका छन्। तुईन हटाउने सरकारी निर्णय भए पनि वैकल्पिक सुरक्षित संरचना नबन्दा नागरिकहरू बाध्य भएर जोखिमपूर्ण यात्रा गर्नुपरेको उनीहरूको भनाइ छ।