धनगढी –
धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित केही स्पा सेन्टरहरूमा पछिल्लो समय अनैतिक गतिविधि बढ्दै गएको गुनासो बढेको छ। स्वास्थ्य र आरामका लागि सञ्चालन हुने स्पा केन्द्रहरूमा मसाजपछि “ह्यापी इन्डिङ” को नाममा यौनजन्य सेवा प्रस्ताव गरिने गरेको स्थानीय स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार स्पा सेन्टरहरूमा मसाज सेवाका लागि करिब रु. १००० शुल्क लिने गरिएको छ भने त्यसपछि अतिरिक्त रु. ५०० लिएर गैरकानुनी सेवा दिने गरिएको आरोप छ। यस्तो गतिविधि खुलेआम भइरहेको भए पनि सम्बन्धित निकायको अनुगमन प्रभावकारी नभएको स्थानीयको भनाइ छ।
स्पा भनेको सामान्यतया मसाज, फेसियल, बडी स्क्रब, स्टीम बाथ तथा साउना जस्ता स्वास्थ्य र सौन्दर्यसम्बन्धी सेवा प्रदान गर्ने स्थान हो। तर केही स्पा केन्द्रहरूले यस्ता सेवाको आडमा गैरकानुनी गतिविधि सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ।
नेपालको प्रचलित कानुन अनुसार यौनजन्य सेवा व्यवसायिक रूपमा सञ्चालन गर्नु गैरकानुनी मानिन्छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता गतिविधिलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरेको छ। साथै सार्वजनिक नैतिकता विपरीतका कार्यहरू पनि कानुनले निषेध गरेको छ।
यता, स्थानीयवासीहरूले प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाएका छन्। यस्ता गतिविधि भइरहेको जानकारी हुँदाहुँदै पनि अनुगमन तथा नियन्त्रणका लागि ठोस कदम नचालिएको उनीहरूको गुनासो छ। केहीले भने स्पा व्यवसायी र प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको आरोप समेत लगाएका छन्, यद्यपि यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन।
यस विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान दिई अनुगमन कडा पार्न तथा दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक देखिएको छ।