शनिबार, बैशाख ५, २०८३

कैलालीमा खैरो हिरोइनसहित ३ जना पक्राउ

कैलाली । जिल्लाको भजनी नगरपालिका–५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने २ ग्राम ७० मिलिग्राम धुलो पदार्थसहित तीन जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ परागीपुरका ३० वर्षीय प्रकाश भण्डारी, २६ वर्षीय प्रकाश वडुवाल र २८ वर्षीय प्रविन भण्डारी रहेका छन् ।

विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गरेको थियो । सो क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषधसहित मोटरसाइकल बरामद गर्दै तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।