शुक्रबार, बैशाख ४, २०८३

यातायात कार्यालय धनगढीको सुख्खडमा छड्के अनुगमन, ३६ सवारीलाई कारबाही

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीले शुक्रवार महेन्द्र राजमार्गमा सवारी चेकजाँच गरेको छ। यातायात व्यवस्था कार्यालय धनगढी र ट्राफिक प्रहरीको संयुक्त टोलीले १५३ वटा सवारीलाई चेकजाँच गरेको हो।

यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीका सूचना अधिकारी सुरेश ओखेडाले शुक्रवार महेन्द्र राजमार्गको सुख्खडमा १५३ वटा सवारी साधन चेकजाँच गर्दा २६ वटा सवारी साधन कारबाहीमा परेको बताए। उनले ३६ सवारी साधनबाट ८१ हजार पाँच सय रुपैयाँ जरिवाना संकलन भएको बताए।

‘हामीले सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन,२०७९ को १८६ को (१) र यातायात व्यवस्था नियमावली, २०८० को नियम ७५ को (१) को अधिनमा रहेर सावरी साधन चेकजाँच गर्दा नियम उल्लङ्घन गरेर चलाइएका ३६ सवारी साधनलाई कारबाही गरिएको हो,’ उनले भने, ‘यातायात क्षेत्रको निरीक्षण तथा अनुगमन गर्ने क्रममा विभिन्न कैफियत भएका सवारी साधनलाई जरिवान गरिएको हो।’