शुक्रबार, बैशाख ४, २०८३

सुदूरपश्चिम झिक्कै नाइँ दिल्ली भन्दा दूर भइसक्यो : सांसद ऐन महर

काठमाडौं – नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन शाहलाई चुनाव अघिको फेसबुक स्टाटसबारे स्मरण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले बालेनले बझाङ पुगेर ‘सुदूर अब दूर नाईँ, झिक्कै झिक्कै माया तिम्लाई’ भन्दै लेखेको स्टाटस लेखेको प्रसङ्ग उठाउँदै त्यसको कार्यान्वयनबारे प्रश्न उठाए ।

उनले उक्त अभिव्यक्ति वास्तविक प्रतिबद्धता हो भने सुदूरपश्चिमका विभिन्न सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरे ।
महरले बझाङ जिल्लासँग जोडिएका जयपृथ्वी राजमार्ग (खोतपे–चैनपुर), चैनपुर–ताक्लाकोट मार्ग, खुटिया–दिपायल–चैनपुर सडक, सेती लोकमार्ग (थामलेख–चैनपुर खण्ड), साथै बित्थड–चैनपुर–छबिस हुँदै जयपृथ्वी नगर जोड्ने सडक र बागथला–बिजगडा–गनैलेख हुँदै दार्चुलासम्म जोडिने मार्गको स्तरोन्नति, कालोपत्रे तथा निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरे ।

बझाङमा निर्माण भइसकेको विमानस्थल सञ्चालनमा ल्याउन समेत उनले सरकारको ध्यानाकर्षण गराए । उनले धनगढी दिल्लीभन्दा पनि टाढा भएको जस्तो अनुभूति हुने अवस्था भइरहेको बताए ।

उनले थपे, ‘बझाङ जिल्लामा एयरपोर्ट बनेको छ त्यो सरकारलाई हेरेर बसेको छ आनन्दले । त्यहाँ प्लेन चलाइदिनका लागि पनि अनुरोध गर्न चाहन्छु । अर्को कुरा दूर साँच्चै भन्यो भने सुदूरपश्चिम धनगढी दिल्ली भन्दा दूर भइसक्यो ।’