शुक्रबार, बैशाख ४, २०८३

होटल पौवा धनगढीको १०औं वार्षिकोत्सवमा तीन दिने ‘स्वाद उत्सव’ सुरु

 धनगढी । होटल पौवा धनगढीले आफ्नो १०औं वार्षिकोत्सवको अवसर पारेर तीन दिने ‘स्वाद उत्सव’ आयोजना गरेको छ। बिहीबारदेखि धनगढीस्थित शाखामा सुरु भएको उत्सवमा होटलले स्थानीय ग्राहक तथा धनगढीवासीलाई निमन्त्रणा गर्दै विभिन्न स्वादिष्ट परिकारको अनुभव लिन आग्रह गरेको छ।

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले रिवन काटेर गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै सांसद पाठकले होटल पौवाको १० वर्षे यात्रामा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै धनगढीमा हस्पिटालिटी व्यवसायको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले निजी क्षेत्रबाट होटल पौवाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने कार्यमा यसको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रमकै अवसरमा होटल पौवा धनगढीले आफ्ना कर्मचारीलाई समेत सम्मान गरेको छ। यस वर्षको उत्कृष्ट कर्मचारीका रूपमा धनगढी शाखाकी पुष्पा के.सी.लाई प्रमुख अतिथि पाठकले नगदसहित सम्मानपत्र प्रदान गरे।

होटल पौवा धनगढीका महाप्रबन्धक महेश शाहले उत्सवलाई सफल बनाउन सबै धनगढीवासीलाई सहभागी हुन आग्रह गरे। उनले उत्सवका तीनै दिन फरक–फरक स्वादका ननभेज र भेज परिकारहरू तयार गरी पाहुनाहरूलाई नयाँ अनुभव दिलाउने व्यवस्था गरिएको जानकारी दिए।

होटल पौवा धनगढीले आफ्नो १०औं वार्षिकोत्सवलाई केवल उत्सवमा सीमित नराखी ‘स्वाद उत्सव’मार्फत स्थानीय पर्यटन, हस्पिटालिटी व्यवसाय र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने प्रयास गरेको देखिन्छ। यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना, व्यवसाय प्रवर्द्धन र शहरको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।