धनगढी चौराहा क्षेत्रमा प्रहरीमाथि असुली र दुरुपयोगको आरोप, छानबिनको माग।
कैलाली — धनगढी उपमहानगरपालिका अन्तर्गत चौराहा तथा आसपासका क्षेत्रमा कार्यरत प्रहरीमाथि असुली, दुरुपयोग र गैरकानुनी गतिविधिमा संरक्षण दिएको आरोप सार्वजनिक भएको छ। विशेषगरी विशालनगर क्षेत्रमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) खडक ऐरको आगमनपछि यस्तो गतिविधि बढेको भन्दै स्थानीय व्यवसायीहरूले गुनासो गरेका छन्।
स्थानीय स्रोतका अनुसार उक्त क्षेत्रमा सञ्चालनमा रहेका होटल, स्पा तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित व्यवसायहरू प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको दाबी गरिएको छ।
स्रोतले जनाएअनुसार पछिल्लो समय तस्करीका मालसामान मोलमोलाइमा छोड्ने प्रवृत्ति समेत बढेको छ। स्थानीय व्यवसायीहरू भन्छन् कि प्रहरीको मिलेमतोमा केही व्यवसायलाई अवेर रातसम्म सञ्चालन गर्न दिइन्छ भने अरूलाई भने दबाबमा बन्द गराइन्छ।
नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, “अघिल्ला असईले यस्तो व्यवहार देखाउनु भएको थिएन, तर अहिलेका इन्चार्जले हामीलाई दुःख दिनुभएको छ।”
स्रोतका अनुसार असई खडक ऐर यसअघि ट्राफिक कार्यालयमा कार्यरत थिए र त्यहाँ पनि विवादित छवि बनाएका थिए। माथिल्लो तहका अधिकारीलाई खुसी पारेर इन्चार्ज बन्ने उनको प्रवृत्ति रहेको आरोप समेत लगाइएको छ।
यस घटनाले प्रहरी संगठनको छवि माथि प्रश्न उठाएको छ। कानुनी रूपमा प्रहरीको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको अधिकार संरक्षण गर्ने हो। तर यस्ता आरोपहरू गम्भीर भएकाले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन आवश्यक रहेको स्थानीयहरूको माग छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
D