शुक्रबार, बैशाख ४, २०८३

गौरीफन्टा नाका भएर फर्किने नेपाली रिक्सा चालकबाट ठगिँदै, सुरक्षाकर्मी मूकदर्शक !

धनगढी ।  कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किने मजदुरहरू अटो रिक्सा चालकको ठगीमा पर्न थालेका छन्। नयाँ वर्षसँगै सुदूरपश्चिममा मनाइने बिसु पर्वका लागि घर फर्किने मजदुरहरूबाट सीमा क्षेत्रमा मनपरी भाडा असुल्ने गरिएको गुनासो बढेको हो।

भारततर्फको भन्सार र एसएसबीबाट विगतजस्तो हैरानी नभए पनि नेपाल प्रवेश गरेपछि आफ्नै देशका नागरिकबाट ठगिनु परेको पीडितहरूको भनाइ छ। विशेषगरी नाकादेखि धनगढी बसपार्कसम्म अटो चालकले तोकिएकोभन्दा धेरै गुणा बढी भाडा असुली गरिरहेको आरोप लागेको छ।

बाजुराको बुढीगंगा नगरपालिका–८ की सुनिता कुमाल आइतबार बिहान दिल्लीबाट फर्केर गौरीफन्टा पुगेकी थिइन्। बिहान ५ बजे नाका पुगेपछि एक अटो चालकले उनको झोला समातेर जबर्जस्ती अटोमा राखी धनगढी बसपार्कसम्म पुर्‍याएपछि १ हजार ५ सय भारतीय रुपैयाँ (करिब २ हजार ४ सय नेपाली रुपैयाँ) असुलेको उनले गुनासो गरिन्।

गौरीफन्टा नाकादेखि धनगढी चौराहसम्म सामान्य भाडा २५ रुपैयाँ र बसपार्कसम्म बढीमा ३५ रुपैयाँ मात्र पर्ने भए पनि भारतबाट फर्किने यात्रुसँग मनपरी रकम लिने गरिएको पाइएको छ।

यस्तै, सुपप्र ०१००१ ह ४८१७ नम्बरको अर्को अटो चालकले पनि यात्रुसँग प्रति व्यक्ति ६ सय भारतीय रुपैयाँ असुलेको आरोप लागेको छ। बाजुराकै देवे ओडले आफ्नो र झोलाको भाडा भन्दै जबर्जस्ती रकम लिएको बताए।

सुरक्षाकर्मी र होटलसँग ‘सेटिङ’ को आशंका

पीडितहरूले नाका क्षेत्रमा खटिने सुरक्षाकर्मीहरू ठगीबारे बेखबर जस्तै देखिए पनि असुली भएको रकम उनीहरूसम्म पुग्ने गरेको आशंका व्यक्त गरेका छन्। नाकादेखि चौराहसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी तैनाथ भए पनि यात्रु ठगिने क्रम रोकिएको छैन।

धनगढी बसपार्क र चौराह क्षेत्रका केही होटल सञ्चालकले भारतबाट फर्किने यात्रुलाई होटलसम्म ल्याइदिएबापत अटो चालकलाई २ सयदेखि ५ सय रुपैयाँसम्म कमिशन दिने गरेको आरोप पनि छ।

कारबाही गर्ने प्रतिबद्धता

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्य ले बढी भाडा असुल्ने अटो चालकको पहिचान गरी कारबाही गरिने बताए।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ले सीमा क्षेत्रमा यात्रुलाई दुःख दिने वा जथाभावी रकम असुल्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। प्रेस पत्र वाट साभार