शुक्रबार, बैशाख ४, २०८३

कैलाली र दार्चुलामा भन्सार छलीका अवैध सामान बरामद

धनगढी । कैलाली र दार्चुलाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब ९० हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले शनिबार जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ३६ हजार ३६० रुपैयाँ बराबरका कपडा, फलफूल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडा भोल्याबाट इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले ५४ हजार १५० रुपैयाँ बराबरका कपडा, किराना लगायतका सामान शनिबार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।