अछाम — सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले अछामका युवा नेता पृथ्वीबहादुर शाहलाई सुदूरपश्चिम प्रदेश युवा परिषद्को सदस्य पदमा मनोनित गरेको छ।
मन्त्रालयद्वारा जारी पत्रअनुसार युवा परिषद् (गठन) ऐन, २०७७ बमोजिम शाहलाई परिषद्को सदस्यमा मनोनयन गरिएको हो। उनी बान्नीगढी जयगढ गाउँपालिका–६, अछामका स्थायी बासिन्दा हुन्।
शाह नेपाली कांग्रेस अछाम जिल्लाका आमन्त्रित सदस्य हुनुका साथै सूचना, सञ्चार तथा प्रचार–प्रसार विभाग अछामका संयोजकको जिम्मेवारी पनि सम्हालिरहेका छन्। लामो समयदेखि पार्टी संगठन विस्तार र युवामुखी गतिविधिमा सक्रिय रहँदै आएका शाहको नियुक्तिले जिल्लामा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा उनको सक्रियताले युवाहरूको सहभागिता बढाउने, नीति निर्माणमा सकारात्मक योगदान पुर्याउने र प्रदेशस्तरमा अछामको प्रतिनिधित्व सशक्त बनाउने अपेक्षा गरिएको छ।
उनको मनोनयनप्रति स्थानीय नेता तथा कार्यकर्ताहरूले खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
