धनगढीमा बन्द रहेको फनपार्क नयाँ वर्षदेखि पुनः सञ्चालनमा, आकर्षण थपिँदै
कैलाली — धनगढी उपमहानगरपालिका–२ भन्सार रोडस्थित केही वर्षदेखि बन्द रहेको फनपार्क नयाँ वर्ष २०८३ को अवसर पारेर पुनः सञ्चालनमा आएको छ। बैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको पार्कलाई नयाँ स्वरूपमा व्यवस्थित गरिएको सञ्चालकले बताएका छन्।
झण्डै अढाइ बिगाहा क्षेत्रफलमा फैलिएको पार्कमा स्वीमिङ पुल, वेभ पुल, किड्स पुल, मल्टि-लेन स्लाइड, ट्युब लाइट स्लाइड, पेन्डुलम, म्युजिकल फन्टेन र ब्रेक डान्सजस्ता विभिन्न मनोरञ्जनात्मक संरचना समावेश गरिएका छन्। बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गर्दै आधुनिक र सुरक्षित वातावरणमा मनोरञ्जन लिन सकिने व्यवस्था मिलाइएको छ।
नेपाल–भारत सीमाक्षेत्र नजिकै रहेको यस फनपार्कले आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती क्षेत्रबाट आउने आगन्तुकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।
२०७५ साल बैशाख १४ गते करिब १२ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको पार्क सञ्चालकहरूबीचको विवादका कारण केही वर्षमै बन्द भएको थियो। अहिले पुनः व्यवस्थापन गर्दै सेवा सुचारु गरिएको हो।
सञ्चालक श्याम बिष्टका अनुसार केही वर्षको अवरोधपछि पार्कलाई नयाँ ढंगले सञ्चालनमा ल्याइएको हो र यसपटक सेवा गुणस्तर तथा सुरक्षामा विशेष ध्यान दिइएको छ। अर्का सञ्चालक चेतराज जोशीले धनगढीलाई मनोरञ्जनको प्रमुख केन्द्र बनाउने लक्ष्यसहित पार्कलाई अझ आकर्षक बनाइएको बताए।
पुनः सञ्चालनसँगै धनगढी फनपार्क यस क्षेत्रकै प्रमुख मनोरञ्जन गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।