मङ्लबार, बैशाख ८, २०८३

बर्दगोरियाका २१ मुक्त कमैया परिवारलाई सुरक्षित आवास हस्तान्तरण

धनगढीः वैशाख ६ गते ।कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका २१ मुक्त कमैया घर परिवारलाई आइतबार सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।

विपिन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकार, बर्दगोरिया गाउँपालिका, ह्याबिटाट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त सहयोगमा आवास निर्माण गरेर हस्तान्तरण गरिएको हो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले आवास उद्घाटन र हस्तान्तरण गरे। सो क्रममा उनले नेपालमै पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाएर मुक्त कमैया, मुक्त हलिया र कमलरीका लागि सुरक्षित आवास निर्माणको कार्य अगाडि बढाएको बताए। तीन तहकै सरकारबीच समन्वय भएर सही तथ्यतथ्याङ्क आएमा यी वर्गको लागि आवश्यक सुरक्षित आवास एकै वर्षमा बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य रामेश्वर चौधरीले पुनस्र्थापना सहजताका लागि स्थानीय तहहरुलाई पनि मुक्त कमैया, कमलरी तथा मुक्त हलिया पुनस्र्थापना कार्यविधि चाँडै बनाउन आग्रह गरे ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गाउँपालिकाभित्र रहेका सबै मुक्त कमैयाको पुनस्र्थापना गर्न तयार रहेको बताए। ह्याबिटाट फर ह्युमानिटी नेपालकी पश्चिम प्रमुख पुनिता चौधरीले आफ्नो संस्थाले अहिलेसम्म मुक्त कमैया, मुक्त हलियासहित विपन्न वर्ग भूमिहीनका लागि २५२ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको उल्लेख गरिन्।

उनले यी वर्गहरुको घर मर्मतका लागि पनि अगाडि बढ्ने तयारी भइरहेको बताइन्। राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष मोहन ओडले प्रदेश सरकार, स्थानीय तह र सङ्घसंस्थाहरूको सहकार्यमा सुरक्षित आवास निर्माण गरिएको जानकारी दिए।

कुल एक करोड ४७ लाख ६९ हजार रुपियाँ लगानीमा चर्पी, भान्सासहित दुई कोठे आवास २१ वटा निर्माण गरिएको जनाइएको छ ।