शुक्रबार, बैशाख ४, २०८३

यातायात व्यवस्था कार्यालय धनगढी र मालपोत कार्यालय धनगढीमा कडाइ: १२ विचौलिया प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको धनगढीस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय क्षेत्रमा सक्रिय विचौलियामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले कडा कारबाही थालेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने, कार्यालयको काम गरिदिन्छु भन्दै अवैध रूपमा पैसा असुल्ने तथा लेखापढीका लागि आवश्यक लाइसेन्ससमेत नभएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार यातायात व्यवस्था कार्यालयबाट ७ जना र मालपोत कार्यालय धनगढीबाट ५ जना विचौलियालाई नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिहरूले सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याएर दुःख दिने, गैरकानुनी रूपमा लेखापढी गर्ने र कार्यालयका काम छिटो गरिदिने नाममा रकम असुल्ने गतिविधि गर्दै आएका थिए।

प्रवक्ता तिमिल्सिनाले सरकारी कार्यालयमा हुने यस्ता अनियमितता रोक्न अभियान जारी रहने बताउँदै सेवाग्राहीलाई पनि सचेत रहन आग्रह गरेका छन्।