बुधबार, बैशाख १६, २०८३

कैलाली–५ का सांसद चन्दद्वारा ‘सुदूरपश्चिम इन्क्युबेसन तथा स्टार्टअप’ अवधारणा सार्वजनिक

धनगढी । कैलाली–५ का प्रतिनिधिसभा सदस्य डा. आनन्द चन्दले ‘सुदूरपश्चिम इन्क्युबेसन तथा स्टार्टअप’ अवधारणा सार्वजनिक गरेका छन्। उक्त अवधारणा उद्योग वाणिज्य संघ, कैलालीसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो।

‘हब एन्ड स्पोक’ मोडेलमा आधारित यस अवधारणाअन्तर्गत सुदूरपश्चिमका ८८ वटा पालिका, प्रदेश सरकार, ९४ वटा कलेज तथा उद्योग वाणिज्य संघ कैलालीबीच सहकार्य रहनेछ।

कार्यक्रममा बोल्दै डा। चन्दले भने, “२ हजार स्टार्टअप सृजना गरेर २० हजार जनालाई रोजगारी दिने लक्ष्यका साथ हामीले यो प्रस्ताव अघि सारेका छौं।” उनले उद्योग वाणिज्य संघ कैलाली र अध्यक्ष पुष्करराज ओझाले देखाएको सहयोगप्रति आभार पनि व्यक्त गरे।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझाले अन्तरक्रिया अर्थपूर्ण रहेको बताए। उनले भने, “हामीले यस किसिमको पहल सुरु गरिसकेका थियौं। आज प्रतिनिधिसभा सदस्यले त्यसलाई सुदूरपश्चिमव्यापी बनाउने मोडेलसहित छलफलमा ल्याउनु भएको छ। सरकार र निजी क्षेत्र मिलेर यसलाई सफल बनाउन सहज हुने देखिन्छ।”

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले कैलाली–५ ले सही नेतृत्व पाएको टिप्पणी गरे। उनले भने, “उद्यमशीलतालाई बुझ्ने जनप्रतिनिधि पाएको महसुस भएको छ। उहाँको अवधारणासँग सहकार्य गर्दै अघि बढ्न सकिन्छ।”

कैलाली मल्टिपल क्याम्पसका उद्यमशीलता विकास कार्यक्रम प्रमुख डॉ राजेन्द्रवीर चन्दले विगतमा सरकार र निजी क्षेत्रबीच समन्वय प्रयास सफल नभएको बताए। उनले भने, “स्टार्टअप बिना रोजगारी सिर्जना गर्न सकिँदैन। यूजीसीबाट २ करोड रुपैयाँ प्राप्त भएको थियो। प्रस्ताव आह्वान गर्दा ८५ वटा आइडिया आएका थिए। तीमध्ये २७ वटा स्टार्टअपलाई २ देखि ५ लाख रुपैयाँसम्म अनुदान दिएर सञ्चालनमा ल्याइएको छ।”

स्विस कन्ट्र्याक्टका उद्धव सुवेदीले उक्त अवधारणा सकारात्मक रहेको बताए। त्यस्तै, वेल्ट हंगर हिल्फका मिल अफिसर निरज गिरीले आफ्नो संस्था पनि यस क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै सहकार्यको सम्भावना खोज्ने बताए।