नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर बन्ने सँघारमा छन् ।
समर्थकहरूले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी ओमानविरुद्धको खेलमै उनले यो उपलब्धि हासिल गर्ने अनुमान गरेका थिए ।
तर, ओमानविरुद्धको खेलमा सन्दीपले किफायती बलिङ गर्दै दुई विकेटमात्र लिन सके । उनले लिग–२ प्रतियोगितामा लिएको विकेट संख्या ९९ पुगेको छ ।
सन्दीपले ओमानका आशिष ओडेदरालाई आफ्नो ९८औँ सिकार बनाए । उनले ओडेदरालाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । यो उनको ९८औँ विकेट थियो ।
त्यसपछि सन्दीपले ओमानका आर्यन विष्टलाई बोल्ड गरेका थिए । लिग–२ प्रतियोगितामा यो उनको ९९औँ विकेट हो ।
नेपालले अब शुक्रबार संयुक्त अरब इमिरेट्स ९यूएई०सँग अर्को खेल खेल्दैछ । त्यो खेलमा उनले एक सय विकेटको कोशेढुङ्गा पूरा गर्ने बलियो सम्भावना छ ।
हाल पनि उनी लिग–२ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन् । उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ७२ र दोस्रो संस्करणमा २६ विकेट लिएका छन् ।
लिग–२ प्रतियोगितामा अमेरिकाका सौरभ नेत्रवाल्करले ९३ विकेट लिएका छन् । उनले पहिलो संस्करणमा ५८ र जारी संस्करणमा ३५ विकेट लिएका छन् ।