शनिबार, बैशाख १९, २०८३

कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–७ मनेहरा र भजनी नगरपालिका–३ थेगीपुर क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ७१ हजार ९०० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

बरामद सामानमा बिडी, केरा, सिद्रा माछा तथा ४ थान साइकल रहेका छन्। उक्त सामान बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१७ नहर नजिक र बेदकोट नगरपालिका–८ भाँसीबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब १ लाख १४ हजार ९५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

बरामद गरिएका सामानमा खाने तेल, चामल, चियापत्ति, माछा तथा एक थान मोटरसाइकल रहेका छन्। ती सामान पनि बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ।