शनिबार, बैशाख १९, २०८३

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवी नगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

आजदेखि रहेका घर टहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, “उपत्यका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत आज धोबी खोलाको देवीनगर क्षेत्रमा रहेका घर टहरा हटाउने कार्य जारी छ ।”

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएको थियो । हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घर टहरा हटाइएको महानगर प्रहरीले जनाएको छ ।

बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारको लगत संकलन भइरहेको छ ।