आइतवार, जेष्ठ ३, २०८३

सेती अस्पतालको पार्किङमा स्कार्पियो जल्यो, अक्सिजन सिलिन्डर पड्किँदा आगलागी

धनगढी । सेती प्रादेशिक अस्पतालमा पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ ।

शनिबार साँझ साढे ५ बजेतिर धनगढी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय मुकुन्द जोशीले चलाएर ल्याएको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कारपियो अस्पतालको पार्किङमा राखिएको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवत्ता प्रहरी निरिक्षक लोकराज जोशीले आगलागीबाट स्कारपियो जलेको बताए । उनकाअनुसार बिरामीका लागि गाडीमा जोडिएको अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको पाइएको छ ।

आगलागीबाट स्कारपियो पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए । घटनापछि वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

धनगढी उपमहानगरपालिकाको दमकलले सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगले नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।