धनगढी : कैलाली भन्सार कार्यालय ले १३ क्विन्टल चिनी प्रक्रिया मिचेर सुटुक्क बिक्री गरेको आरोपपछि कार्यालयमा व्यवसायी र कर्मचारीबीच लगातार विवाद भइरहेको छ। भन्सारमा सूचीकृत व्यवसायी फर्मका सञ्चालकहरूले मिलेमतोमा चिनी लिलामी गरिएको भन्दै शुक्रवारदेखि कार्यालयमा दैनिकजसो लफडा गर्दै आएका हुन्।
व्यवसायीहरूको आरोप अनुसार भारतबाट तस्करी गरेर ल्याइएको १३ क्विन्टल चिनी कार्यालयले गोप्य रूपमा लिलामीमा बिक्री गरेको हो। भन्सार कार्यालयको भवन मर्मत कार्य सुरु भएकाले गोदाममा राखिएको चिनी कुनै सूचना सार्वजनिक नगरी बिक्री गरिएको उनीहरूको दाबी छ।
भन्सार कार्यालयले भने भन्सारको “३६–१२” नियम अन्तर्गत चिनी बिक्री गरिएको जनाएको छ। तर सूचीकृत व्यवसायीहरूले २२ वटा फाइलमा रहेका अन्य सामान बिक्री नगरी चिनी मात्र बिक्री गरिएकोप्रति आपत्ति जनाएका छन्।
एक व्यवसायीले आक्रोश व्यक्त गर्दै भने, “३६–१२ भनेको सडेगलेका वस्तु बिक्री गर्न पाइने नियम हो। २२ वटा फाइलमा चिनी मात्रै थियो र ? बिस्कुट, सोडा, लम्किनजस्ता सामान पनि थिए होला। हामीलाई फाइल किन देखाइएन ? चिनी मात्र किन बिक्री गरियो ? अन्य सामान सड्दैन र ?”
व्यवसायीहरूले सूचना नै सार्वजनिक नगरी चिनी बिक्री गरिएको भन्दै भन्सार कार्यालयमाथि सरकारलाई घाटा पुर्याउने नियत रहेको आरोपसमेत लगाएका छन्। आइतवार बिदाको दिनमासमेत कार्यालय परिसरमा विवाद चर्किएको थियो।
कार्यालयका कर्मचारीहरूले भने आगामी दिनमा यस्ता कमजोरी नदोहरिने भन्दै व्यवसायीहरूलाई सम्झाउने प्रयास गरेका थिए। उनीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार गरेको व्यवसायीहरूको दाबी छ। तर, घटनाबारे औपचारिक प्रतिक्रिया दिन भन्सार कार्यालयका कर्मचारीहरू तयार देखिएनन्।
लफडा सुरु भएपछि प्रमुख भन्सार अधिकृत अन्नत प्रसाद तिम्सिना बिदामा रहेको बताइएको छ भने सूचना अधिकृत प्रकाश तिमल्सिना फोन बन्द गरेर सम्पर्कविहीन भएका छन्।
हाल भारतबाट चिनी आयात बन्द रहेकाले सीमावर्ती क्षेत्रमा चिनी तस्करी बढ्दै गएको छ। तस्करीबाट बरामद गरिएका सामानहरू भन्सार कार्यालयले लिलामीमार्फत बिक्री गर्दै आएको छ। सूचीकृत फर्महरूले यस्ता सामान ठेक्का प्रक्रियामार्फत खरिद गर्ने गरेका छन्।