मङ्लबार, जेष्ठ १२, २०८३

भारतीय ट्याक्सीबाट नेपाली यात्रु पीडित : गन्तव्यसम्म नपुर्‍याई बिरामी आमाबुवालाई बाटोमै छाडियो, बढी भाडा असुल्ने र सामान नफर्काउने आरोप

जेष्ठ १०, धनगढी — डोके बजारबाट लखनऊ एयरपोर्टसम्म पुर्‍याउने भन्दै भाडामा लिइएको भारतीय ट्याक्सीले बीच बाटोमै बिरामी वृद्ध दम्पतीलाई अलपत्र छाडेको आरोप लागेको छ। पीडितका छोरा दर्शन थापाले आफ्ना बुवाआमाले अत्यन्तै दुःख पाएको बताएका छन्।
थापाका अनुसार तीन दिनअघि डोके बजारबाट भारतीय नम्बर प्लेटको ट्याक्सीमार्फत आफ्ना बिरामी बुवाआमालाई लखनऊ एयरपोर्ट पठाइएको थियो। तर ट्याक्सी चालकले विभिन्न बहाना बनाउँदै गोमती नगर भन्ने स्थानमा नै उनीहरूलाई झारेर छाडेको आरोप लगाइएको छ।
“मेरो बुवाआमाले साह्रै दुःख पाउनुभयो, अझ उहाँहरू बिरामी हुनुहुन्थ्यो,” दर्शन थापाले गुनासो गर्दै भने।
पछिल्लो समय डोके बजारबाट भारतीय नम्बर प्लेटका सवारीमार्फत यात्रा गर्ने नेपाली यात्रुहरूले विभिन्न समस्या भोग्दै आएको गुनासो बढ्दो छ। यात्रुहरूका अनुसार कतिपय ट्याक्सी चालकहरूले गन्तव्यसम्म नपुर्‍याउने, बीच बाटोमै झार्ने, अत्यधिक भाडा असुल्ने तथा यात्रुको सामान छुटेमा फिर्ता नगर्ने जस्ता गतिविधि गर्दै आएका छन्।
दर्शन थापाका बुवाआमा त्यस्ता पीडितमध्ये एक प्रतिनिधि पात्र मात्र भएको स्थानीयहरूको भनाइ छ। सीमा क्षेत्रमा सञ्चालन हुने केही भारतीय ट्याक्सी सेवामाथि निगरानी कमजोर हुँदा नेपाली यात्रुहरू पटक–पटक मारमा पर्ने गरेको गुनासो छ।
घटनापछि सम्बन्धित भारतीय ट्याक्सी चालकले आफ्नो गल्ती स्वीकार गर्दै डोके बजारमै पीडितका छोरा दर्शन थापासँग माफी मागेको बताइएको छ। चालकले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता जनाएको जनाइएको छ।
यस प्रकारका घटनामा नेपाली नागरिक निरन्तर पीडित बन्न थालेपछि सीमा क्षेत्रमा सञ्चालन हुने सवारी साधनमाथि निगरानी तथा आवश्यक कारबाहीका लागि नेपाली प्रहरी प्रशासनको ध्यान जानुपर्ने स्थानीयहरूको माग छ।