बुधबार, जेष्ठ १३, २०८३

सुदूरपश्चिम मोबाइल व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति चयन, गंगा दशहरामा ‘जलसेवा’ गरेर गरे कार्यप्रारम्भ

​धनगढी- सुदूरपश्चिम मोबाइल व्यवसायी संघ, कैलालीको साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नयाँ कार्यसमिति चयन भएको सुखद उपलक्ष्य तथा पावन पर्व गंगा दशहराको सुअवसर पारेर संघले धनगढीमा विशेष ‘जलसेवा कार्यक्रम’ समेत आयोजना गरेको छ।

​’तिर्खाएकालाई पानी, धर्मको कार्य बेलैमा जानी’ भन्ने मूल नाराका साथ व्यवसायी संघ स-परिवारले जेठ १२ गते (आज) धनगढीमा नगरवासी तथा भक्तजनहरूलाई लक्षित गरी खानेपानी तथा सरबत वितरण गरेको हो। अत्यधिक गर्मीको समयमा सडकमा हिँड्ने बटुवा तथा भक्तजनहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले नयाँ कार्यसमितिको पहिलो रचनात्मक कार्यका रूपमा यो सेवा सुरु गरिएको संघले जनाएको छ।

​नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले व्यवसायिक हकहितका लागि काम गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा नवगठित समितिका पदाधिकारी, सदस्यहरू, स्थानीय मोबाइल व्यवसायी तथा आम सर्वसाधारणको उपस्थिति रहेको थियो।

​संघका अध्यक्ष सन्तोष मण्डल धानुकले विशेष दिन को अवसरमा नयाँ कार्यसमिति का पदाधिकारी तथा सदस्य हरूलाई सफल कार्यकालको बधाई ज्ञापन गर्नुका साथै सम्पूर्ण नगरवासी तथा भक्तजनहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गरेको छ।