शुक्रबार, जेष्ठ २९, २०८३

गेटमा आँखा अस्पताल विवादमा : दिनेशखबरको ‘खण्डन पत्रकारिता’को वास्तविकता

धनगढी, २८ जेठ / गेटा आँखा अस्पतालमा देखिएको कर्मचारी आन्दोलन, संस्थागत सुशासन, पारदर्शिता तथा व्यवस्थापनसँग सम्बन्धित विषय पछिल्लो समय सुदूरपश्चिमका सञ्चारमाध्यममा व्यापक रूपमा उठिरहेका छन्। विशेषगरी सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनले सुरुदेखि नै अस्पताल परिसरमा पुगेर स्थलगत रिपोर्टिङ गर्दै आन्दोलन, कर्मचारीका माग, स्थानीय सरोकार र प्रशासनमाथि उठेका प्रश्नहरूलाई निरन्तर समाचारको विषय बनाएका थिए।

यसको प्रमाणस्वरूप ती दुवै सञ्चारमाध्यमले तयार पारेका भिडियो सामग्रीहरू दिनेशखबरले समेत आफ्नो फेसबुक पेजमार्फत शेयर तथा सम्प्रेषण गरेको देखिन्छ। यसबाट गेटा आँखा अस्पतालको विवादलाई पहिलोपटक स्थलगत रूपमा उठाउने र सार्वजनिक बहसको विषय बनाउने काम सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनले गरेका थिए भन्ने तथ्य थप पुष्टि हुन्छ।

यहाँ छ दिनेश खबरले सम्प्रेषण गरेको भिडियो सामग्री:- https://www.facebook.com/share/v/1D5ohnG8ex/

https://www.facebook.com/share/v/17WohREGjS/

जुन सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनको टिमले कैद गरेको हो। 

यही क्रममा दिनेशखबरले जेठ २७ गते प्रकाशित ‘गेटा आँखा अस्पतालमा कर्मचारी -प्रशासनबीच बढ्दो विवादको भित्री कथा’ शीर्षकमा सम्प्रेषण गरिएको समाचार मार्फत अस्पताल प्रशासनको पक्षलाई प्राथमिकता दिँदै आन्दोलनरत कर्मचारी र समाचार सम्प्रेषण गरिरहेका सञ्चारमाध्यममाथि प्रश्न उठाउने प्रयास गरेको देखिन्छ । समाचारमा आन्दोलनका विषय उठाउने सञ्चारमाध्यमहरू कसैको प्रभाव वा बोलाहटमा अस्पताल पुगेको जस्तो आशय व्यक्त गरिएको छ। तर वास्तविकता त्यस्तो होइन।

गेटा आँखा अस्पतालमा समाचार संकलन गर्न पुगेका पत्रकारहरू कसैले बोलाएको भरमा गएका होइनन्। सार्वजनिक सरोकार, संस्थागत विवाद र आन्दोलनजस्ता विषयमा आधिकारिक जानकारी संकलन गर्न तथा तथ्य खोज्न पत्रकारहरू स्वस्फूर्त रूपमा स्थलगत रिपोर्टिङका लागि पुगेका थिए। पत्रकारिताको आधारभूत अभ्यास नै घटनास्थल पुगेर तथ्य संकलन गर्नु हो।

त्यसलाई कसैको उक्साहट वा बोलाहटसँग जोडेर प्रस्तुत गर्नु पत्रकारिताको मर्मविपरीत हुने देखिन्छ । अर्कोतर्फ, यदि अस्पताल प्रशासनलाई प्रकाशित वा प्रसारित सामग्रीप्रति कुनै गम्भीर आपत्ति थियो भने पत्रकारिताको स्थापित अभ्यासअनुसार सम्बन्धित सञ्चारमाध्यममै आफ्नो प्रतिक्रिया, स्पष्टीकरण वा खण्डन पठाउनुपर्ने थियो। सुदूरपत्र अनलाइन वा सनराइज टेलिभिजनमा प्रकाशित सामग्रीप्रति असहमति भए सोही माध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्न सकिन्थ्यो। तर त्यसो नगरी दिनेशखबरमार्फत प्रशासनको पक्षमा केन्द्रित सामग्री सम्प्रेषण हुनु आफैंमा प्रश्नको विषय बनेको छ। दिनेश खबरले प्रशासनको खण्डन छाप्नु कुन आचारसंहिताले दिन्छ ? 

अझ महत्वपूर्ण कुरा, गेटा आँखा अस्पतालको विवादबारे लामो समयसम्म उल्लेखनीय सामग्री प्रकाशित नगरेको ‘दिनेशखबर’ एकाएक प्रशासनको पक्षमा उभिँदै अन्य सञ्चारमाध्यमले उठाएका विषयको प्रतिवाद गर्ने शैलीमा प्रस्तुत भएको देखिन्छ। यसले समाचारको उद्देश्य तथ्य प्रस्तुत गर्नु थियो कि प्रशासनको बचाउ गर्नु थियो भन्ने प्रश्न उठाएको छ।

नेपाल पत्रकार महासंघको पत्रकार आचारसंहिता तथा प्रेस काउन्सिल नेपालका सिद्धान्तहरूले सञ्चारमाध्यमलाई निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित पत्रकारिता गर्न निर्देशित गरेका छन्। पत्रकारिता कुनै संस्था वा प्रशासनको प्रवक्ता बन्ने माध्यम होइन, बरु सार्वजनिक सरोकारका विषयमा उठेका प्रश्नहरूको सत्यतथ्य खोज्ने प्रक्रिया हो। तर दिनेश खबरले उल्टै प्रशासनको तर्फबाट खण्डन गरेको थियो। सोही खण्डनलाई लिएर सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनमा दिनेश खबरमा प्रकाशित समाचारको विषयवस्तु अनुसारनै शीर्षक राखी सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनमा समाचार सम्प्रेषण गरिएको हो।

स्थानीयवासी, आन्दोलनरत कर्मचारी तथा सुरुदेखि समाचार सम्प्रेषण गर्दै आएका सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनको ठहर अनुसार ‘दिनेशखबर’ले जेठ २७ गते प्रकाशित गरेको सामग्री मूलतः गेटा आँखा अस्पताल प्रशासनमाथि उठेका प्रश्नहरूको तथ्यगत उत्तर दिनभन्दा पनि अन्य सञ्चारमाध्यमले उठाएका विषयलाई कमजोर पार्ने र प्रशासनको पक्षलाई बलियो बनाउने उद्देश्यले तयार गरिएको देखिन्छ। त्यसैले अहिलेको मुख्य प्रश्न गेटा आँखा अस्पतालको विवाद मात्र होइन, पत्रकारिताको निष्पक्षता र व्यावसायिक मर्यादाको पनि हो। यदि कुनै सञ्चारमाध्यमले उठाएका विषयप्रति असहमति छ भने त्यसको तथ्यगत प्रतिवाद सम्बन्धित माध्यममै गरिनुपर्छ। तर अर्को सञ्चारमाध्यममार्फत प्रशासनको बचाउ गर्दै अन्य मिडियालाई नै काउन्टर दिने शैलीमा सामग्री उत्पादन गर्नु पत्रकारिताको कुन सिद्धान्त र कुन आचारसंहिताले अनुमति दिन्छ ?