धनगढी, ३० जेठ / कैलालीको धनगढीस्थित अछाम होटलमा बसेका बैतडीका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बैतडीको पाटन नगरपालिका-३ बोहोरीगाउँ निवासी भुवन भट्ट शनिबार दिउँसो होटलको कोठाभित्र मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार भट्ट शुक्रबार राति अछाम होटलमा बास बसेका थिए। शनिबार दिउँसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि होटल व्यवस्थापनले शंका गर्दै प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक प्रक्रिया पूरा गरी ढोका फुटाएर भित्र प्रवेश गर्दा भट्ट मृत अवस्थामा फेला परेका थिए।
घटनापछि प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम प्रतिवेदनपछि थप तथ्य बाहिर आउने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। भट्टको मृत्युको वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।