आइतवार, जेष्ठ ३१, २०८३

रास्वपाको सुदूरपश्चिम अधिवेशनमा युवा कानुन विद्यार्थी बिना बिष्टको प्रदेश सदस्यमा उम्मेदवारी

रास्वपाको सुदूरपश्चिम अधिवेशनमा युवा कानुन विद्यार्थी बिना बिष्टको प्रदेश सदस्यमा उम्मेदवारी
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रथम अधिवेशनमा GenZ पुस्ताको प्रतिनिधित्व गर्दै बिना बिष्टले प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। युवा नेतृत्व, सुशासन र सकारात्मक परिवर्तनको अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित उनले उम्मेदवारी दिएको बताएकी छन्।
धनगढी उपमहानगरपालिका–१२ निवासी बिष्ट हाल सुदूरपश्चिम विश्वविद्यालयमा BA.LL.B. अध्ययनरत कानुन विषयकी विद्यार्थी हुन्। कानुनी ज्ञान र सामाजिक न्यायसम्बन्धी अनुभवलाई प्रदेशको विकास र नीति निर्माणमा उपयोग गर्ने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएकी हुन्।
बिष्टले सुदूरपश्चिम प्रदेशको समृद्धि, सुशासन, युवा सहभागिता तथा जनमुखी नीति निर्माणका लागि कानुनी विशेषज्ञताको आवश्यकता रहेको बताउँदै व्यावहारिक, न्यायसङ्गत र नागरिकमैत्री कानुन निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
युवा र महिलाको आवाजलाई नेतृत्व तहसम्म पुर्‍याउने उद्देश्यले राजनीतिमा सक्रिय भएकी उनले परम्परागत राजनीतिक संस्कारमा परिवर्तन गर्दै नयाँ पुस्ताको सोच, ऊर्जा र जिम्मेवार नेतृत्व स्थापित गर्नुपर्ने धारणा राखेकी छन्।
क्लिनिकल लिगल एजुकेसन (CLE) मार्फत सामुदायिक कानुनी सचेतना अभियानमा सक्रिय बिष्टले मानव बेचबिखन तथा आप्रवासी ओसारपसार विरुद्ध विभिन्न संस्थासँग सहकार्य गर्दै समुदायस्तरमा कानुनी सचेतना फैलाउने काम गर्दै आएकी छन्। साथै, मुट कोर्ट अभ्यासमा सक्रिय सहभागिता जनाउँदै सामाजिक न्याय, नागरिक अधिकार र कानुनी सचेतनाका क्षेत्रमा समेत क्रियाशील रहँदै आएकी छन्।
सुदूरपश्चिमले भोगिरहेका नीतिगत समस्या तथा सामाजिक चुनौतीलाई नजिकबाट बुझेकी बिष्टले कानुनी सुधार, पारदर्शिता, जवाफदेहिता र समावेशी विकासमार्फत प्रदेशलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।
उनको उम्मेदवारीलाई युवा नेतृत्व, नवीन सोच, शिक्षा, रोजगारी तथा जिम्मेवार राजनीतिक सहभागिताको प्रतीकका रूपमा हेरिएको छ।