थ्रीस्टार्सलाई हराउँदै कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपको उपाधि विद्याभुषणलाई
कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपको उपाधि विद्याभुषण पब्लिक स्कुलले जितेको छ । आइतबार धनगढीको फाप्लामा सम्पन्न फाइनल खेलमा थ्रीस्टार्स बोर्डिङ्ग स्कुललाई ५ विकेटले पराजित गर्दै विद्याभुषणले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विद्याभुषणले नगद ५० हजार र ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको थ्रीस्टार्स बोर्डिङ्ग स्कुलले नगद २५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का लगायत अन्य अतिथिले संयुक्त रुपमा प्रदान गरे ।
थ्रीस्टार्स बोर्डिङ्ग स्कुलले दिएको ११० रनको लक्ष्य विद्याभुषण पब्लिक स्कुलले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । विद्याभुषणको जितमा नविन शाहले ३६ रनको महत्पपूर्ण पारी खेले भने कप्तान विवेक दुवालले अविजित २५ रनको निकै शानदार पारी खेले । विद्याभुषणका लागि विपिन कार्कीले पनि १३ रनको अविजित पारी खेले ।
थ्रीस्टार्स बोर्डिङ्ग स्कुलका लागि योगेश जोशीले सर्वाधिक ३ विकेट लिन सफल भए भने आकाश बिस्ट र दिपेन्द्र भट्राईले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थ्रीस्टार्स बोर्डिङ्ग स्कुलले १७.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल बनाएको थियो । थ्रीस्टार्स बोर्डिङ्ग स्कुलका लागि कप्तान रबिन्द्र सिंह धामीले सर्वाधिक ३८ रनको पारी खेले । एक समय ७.३ ओभरमा ४६ रन बनाएर ७ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान रबिन्द्र र आकाश बिस्टले राम्रो साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याए ।
विद्याभुषण पब्लिक स्कुलका लागि संसार बोहराले निकै किफायति बलिङ गरे । ४ ओभर बलिङ गरेका बोहराले २५ रन खर्चिदै ४ महत्वपूर्ण विकेट लिन सफल भए । उनी फाइनल खेलको म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै कप्तान विवेक दुवाल र दिपक गोयलाले समान दुई दुई तथा विपिन कार्कीले एक विकेट लिए ।
प्रतियोगीताको उत्कृष्ट बलरको उपाधि त्रिनगर माविका उज्वल कठायतले जित्न सफल भएभने उत्कृष्ट ब्याटर र प्रतियोगीताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड वेस्टर्न कृस्टल एकेडेमीका कप्तान सचिन भट्टले जित्न सफल भए ।
जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका अध्यक्ष लोक बहादुर खड्का रहेका थिए भने धनगढी उपमहानगरपालिका वडा न.३ का अध्यक्ष राज बहादुर ऐर,क्यानका केन्द्रिय सदस्य धिरेन्द्र सावद र राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल विशिष्ट अतिथिको रुपमा रहेका थिए । प्रतियोगीतामा क्यानका प्रदेश तथा जिल्लाका विभिन्न तह र तप्कामा रहेका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । समापन समारोहको सञ्चालन जिल्ला क्रिकेट संघ कैलालीका सदस्य पदम विक्रम सिंहले गरेका थिए । जिल्ला क्रिकेट संघ कैलालीकोे आयोजनामा गत जेष्ठ १५ गतेबाट सुरु भएको प्रतियोगीतामा कैलाली जिल्लाभरका ३६ विद्यालय सहभागी थिए ।