नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो १४औँ वार्षिक ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’ मार्फत २०० भन्दा बढी उत्कृष्ट नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथिका रूपमा सहभागी भई देशभरका विभिन्न विद्यालयबाट शैक्षिक योग्यता र आर्थिक अवस्थाका आधारमा छनोट गरिएका उच्च माध्यमिक तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरे।
पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मानस्वरूप त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लाम्साललाई यस वर्षको छात्रवृत्ति प्राप्तकर्तामध्ये उत्कृष्ट प्रदर्शन गरेको भन्दै ल्यापटप प्रदान गरिएको थियो।
राजदूत हाश्मीले छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहयोग मात्र नभई नेपालको उज्ज्वल भविष्यप्रति सम्मान र लगानी भएको बताए । उनले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित ९एसटीईएम०, स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय साक्षरता तथा समालोचनात्मक सोचजस्ता क्षेत्रमा दक्षता विकास गर्न आग्रह गरे।
राजदूत हाश्मीले पाकिस्तानले नेपालमा प्राथमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीका लागि छात्रवृत्ति, पाकिस्तानमा उच्च शिक्षाका अवसर तथा नेपाली विद्यालयहरूलाई सूचना प्रविधि, खेलकुद, उदार कला र एसटीईएम शिक्षामा संस्थागत सहयोग प्रदान गर्दै आएको जानकारी दिए।
सन् २०१३ मा सुरु गरिएको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा सञ्चालन हुने प्रतिष्ठित विदेशी छात्रवृत्ति कार्यक्रममध्ये एकका रूपमा स्थापित भएको छ। यस कार्यक्रममार्फत हालसम्म हजारौँ नेपाली विद्यार्थीले शैक्षिक उत्कृष्टता हासिल गर्न सहयोग प्राप्त गरेका छन्।