शुक्रबार, असार ५, २०८३

सुदूरपश्चिम बजेटप्रति नेकपाको कडा आपत्ति, ‘दलाल–बिचौलिया केन्द्रित’ भन्दै खारेजको माग

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा असन्तुष्टि जनाएको छ। नेकपाले बजेटलाई जनविरोधी, अपारदर्शी र ‘दलाल–बिचौलिया केन्द्रित’ भएको आरोप लगाउँदै यथास्थितिमा पारित हुन नदिने चेतावनी दिएको छ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारले ल्याएको बजेट इतिहासकै कमजोर बजेट भएको दाबी गरे। बजेट सरकारकै नीति, प्राथमिकता र जनअपेक्षाविपरीत रहेको उल्लेख गर्दै उनले सामान्य संशोधनबाट सुधार सम्भव नभएको बताए।

“यो बजेटमा टालटुल गरेर सुधार गर्ने अवस्था छैन। बजेटमा ठूलो भ्वाङ परेको छ। यसलाई पुनर्लेखन होइन, खारेज गरेर नयाँ बजेट ल्याउनुपर्छ,” भट्टले भने।

उनले बजेट निर्माण प्रक्रियामै गम्भीर अनियमितता भएको आरोप लगाउँदै विभिन्न मन्त्रालयका योजनाहरू गोप्य रूपमा समावेश गरिएको, एउटै योजना दोहोर्‍याइएको तथा मापदण्डविपरीत साना योजनाहरू राखिएको दाबी गरे। बजेटमा कार्यकर्ता र बिचौलियालाई लाभ पुग्ने व्यवस्था गरिएको तथा सुशासन, पारदर्शिता र दिगो विकासका सिद्धान्तलाई बेवास्ता गरिएको उनको आरोप थियो।

भट्टले संसदमा प्रस्तुत गरिएको ३७ अर्ब ६० करोड रुपैयाँको बजेट र कागजातमा उल्लेख रकमबीच समेत अन्तर देखिएको दाबी गरे। साथै, २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने भनिए पनि थुप्रै साना योजना समावेश गरिएको बताए।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै २ करोड ५० लाख रुपैयाँभन्दा बढीका योजना राखिएको उल्लेख गर्दै उनले बजेट वितरणमा पक्षपात भएको आरोप लगाए।

पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले पनि बजेट अपूर्ण र त्रुटिपूर्ण रहेको दाबी गरे। बजेट प्रस्तुतिकै क्रममा आफूहरूले विरोधस्वरूप बहिष्कार गरेको जानकारी दिँदै उनले सरकारले ‘झारो टार्ने शैलीमा’ बजेट ल्याएको आरोप लगाए।

नेकपाले प्रदेश सभाका सबै सदस्यलाई बजेट असफल बनाउन आग्रह गर्दै यथास्थितिमा बजेट पारित हुन नदिने स्पष्ट अडान सार्वजनिक गरेको छ।