धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट असार मसान्तभित्रै पारित हुने र सरकारको स्थायित्वमा कुनै समस्या नरहेको जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सत्ता साझेदार नेकपा (एमाले) ले बजेटमा परिमार्जन नभए सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएपछि प्रदेश सरकारको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। तर मुख्यमन्त्री कमलबहादुर शाहले ती सबै चर्चा निराधार रहेको बताएका छन्।
मुख्यमन्त्री शाहले सुदूरपश्चिमको बजेटप्रति देखिएको चासोलाई सकारात्मक रूपमा लिएको भन्दै संविधान र कानुनी व्यवस्था अनुसार असार ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने भएकाले सोही प्रक्रियाअनुसार काम भइरहेको बताए। उनले केही दिनभित्र प्रदेश सभामा बजेटमाथि छलफल सुरु हुने र सबै पक्षसँग सहमति कायम गर्दै बजेट पारित गरिने विश्वास व्यक्त गरे।
सरकार ढल्ने र नयाँ सत्ता समीकरण बन्ने चर्चा आफू मुख्यमन्त्री बनेदेखि नै भइरहे पनि त्यसको कुनै आधार नभएको उनको भनाइ छ। “हामीले सफलतापूर्वक काम गरिरहेका छौं। एमाले र कांग्रेसबीचको गठबन्धन मजबुत छ,” उनले भने।
मुख्यमन्त्री शाहले लोकतान्त्रिक व्यवस्थामा असन्तुष्टि व्यक्त गर्नु स्वाभाविक रहेको उल्लेख गर्दै एमालेले उठाएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको बताए। सत्ता साझेदार दलहरूसँग छलफल गरी आवश्यक सहमति कायम गर्दै बजेट पारित गरिने र गठबन्धन मिलेरै अगाडि बढ्ने उनको दाबी छ।
मुख्यमन्त्री शाहले सरकार ढल्ने विषय केवल हल्लामात्र भएको दोहोर्याउँदै प्रदेश सरकार निर्धारित समयमै बजेट पारित गरेर आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनतर्फ अघि बढ्ने बताए।