बिहिबार, भदौ ४, २०८३

देउवालाई मोहरा बनाएर कांग्रेस फुटाउने षड्यन्त्रको दाबी

नेपाली काँग्रेसको निर्वाचन आयोगबाट वैधानिकताप्राप्त पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी केही नेताहरू पार्टी फुटाउने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।

आधिकारिक समूहका महामन्त्री गुरुराज घिमिरेले यस्तो आरोप लगाएका हुन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले देउवाको नाम भँजाएर अर्को पक्षका केही नेता आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्ने खेलमा रहेको दावी गरे ।

देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै घिमिरेले त्यसैलाई केन्द्रमा राखेर गुटगत भेला गरिएकोमा आपत्ति जनाए । विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामर्थ्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नुलाई राजनीतिक कमजोरीको संज्ञा दिए ।

‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली काँग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ’, देउवालाई सम्बोधन गर्दै घिमिरेले भने, ‘यसप्रति म सतर्क रहन केन्द्रीय कार्यसमितिमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । जब आफ्नो केही गर्ने सामथ्र्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’

बैठकमा घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राखेका थिए । काँग्रेस नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै आधारभूत तहदेखि नै सुदृढ बनाइने उनको दृढता रह्यो ।

काँग्रेसको आगामी संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भविष्यका लागि हुने दाबी पनि घिमिरेले गरेका छन् ।