शुक्रबार, कार्तिक ७, २०८३

क्रिकेटबाट घोडाघोडी चिनाउने अभियान, चितलपुरमा छैटौँ वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित खेलकुद गतिविधि तीव्र पारिएको छ। खेलकुदकै माध्यमबाट घोडाघोडीलाई जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्यका साथ घोडाघोडी नगरपालिका–२, चितलपुरमा छैटौँ वडास्तरीय क्रिकेट प्रतियोगिता २०८३ सुरु भएको छ।

चितलपुरस्थित चिडिया ताल युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर रावतले गर्नुभएको हो। प्रतियोगिताले स्थानीय युवालाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै उनीहरूमा रहेको खेल प्रतिभा पहिचान गर्न र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थापनाकालदेखि नै क्रिकेटको विकासमा सक्रिय चिडिया ताल युवा क्लबले विभिन्न चुनौतीका बीच पनि खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ। क्लबको पहलबाट जिल्ला तथा राष्ट्रिय स्तरसम्म पुग्ने खेलाडी तयार भइसकेका छन्। सीमित स्रोतसाधनका बाबजुद प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले क्रिकेटमार्फत घोडाघोडीको पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ।

स्थानीय स्तरमा खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्न स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण देखिएको छ। घोडाघोडी नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।

यता, घोडाघोडी नगरपालिकाले पनि विभिन्न खेलकुद क्लब तथा खेलाडीलाई सहयोग गर्दै आएको जनाएको छ। स्थानीय स्तरमा प्रतियोगिता आयोजना गर्दा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने र नगरको खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने नगरप्रमुख खड्कबहादुर रावतको भनाइ छ।

पर्याप्त स्रोतसाधनको अभाव र विभिन्न चुनौतीका बीच क्रिकेट प्रशिक्षक हर्कबहादुर बस्नेत, क्लबका पदाधिकारी तथा स्थानीय सरोकारवालाको निरन्तर प्रयासले घोडाघोडीमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ। यस्ता प्रतियोगिताले नयाँ खेलाडीको पहिचान गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि र उच्चस्तरको प्रतिस्पर्धामा सहभागी हुने आधार तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

स्थानीय युवाको मेहनत, क्लबको सक्रियता र स्थानीय सरकारको सहयोगलाई निरन्तरता दिन सके घोडाघोडी क्रिकेटको उर्वरभूमिका रूपमा स्थापित हुन सक्ने सम्भावना छ। स्थानीय मैदानबाट सुरु भएको यही अभियानले भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुका साथै क्रिकेटमार्फत घोडाघोडीको पहिचान देशभर फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।