बिहिबार, बैशाख १०, २०८३

मुख्यमन्त्री शाह नेतृत्वको सरकारको एक सय दिन पुरा, बजेट पारितदेखि कानुन निर्माण प्रमुख उपलब्धी

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको आज एक सय दिन पुरा भएको छ । २०८१ साल भदौ २१ गते दोस्रो पटक बनेका मुख्यमन्त्री शाह नेतृत्वको सरकारले एक सय दिन पुुगेको अवसरमा आफना उपलब्धीहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री शाहले बजेट ल्याउनदेखि कानुुन निर्माणलाई मुख्य उपलब्धीका रुपमा प्रस्तुत गरेका छन् । शाहका अनुसार सय दिनमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा समावेशीकरण नीति, अपाङ्गतासम्बन्ी प्रादेशिक नीति ल्याउनुलाई उपलब्धीका रुपमा पेश गरेका छन् ।
यस्तै, प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन २०८१, प्रदेश आर्थिक ऐन, विनियोजन ऐन, सामयिक राजश्व संकलन सम्बन्धी ऐन, २०८१ र प्रदेश विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट पारित भएको उल्लेख छ ।
मुख्यमन्त्री शाहका अनुसार यस अवधिमा दुई वटा विधेयक, एक नियमावलीका साथै आवश्यक मापदण्ड, मार्गदर्शन र कार्यविधिहरु निर्माण गरिएको जनाइएको छ ।

मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले कुल बजेटको आठ दशमलब दुई प्रतिशत खर्च भएकोमा पुँजिगततर्फको कुल बजेटमा पाँच दशमलब ९७ प्रतिशत रकम खर्च भएको बताए ।

मुख्यमन्त्री शाहले सार्वजनिक गरेको उपलब्धीमा संघिय सरकारबाट भएका कार्यक्रमहरुलाई पनि समेटिएको छ ।