धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नसके मात्र दिगो विकास सम्भब हुने बताएका छन ।
बिहिबार राष्ट्रिय योजना आयोगले धनगढीमा आयोजना गरेको सोहौं योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रिय पोषण योजना लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित दुई दिने अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
समग्र सुदुरपश्चिम प्रदेशलाई समृद्धी बनाउने खालका योजना बनाउन संघ सरकारसँग कुरा भएको उनले बताए । उनले सुदूरपश्चिममा जलविधुतको सम्भावना रहेकोले संघ सरकारले उक्त योजना अगाडि बढाएमा पूर्ण लगानीको वातावरण सुदूरपश्चिम सरकारले मिलाउने बताए ।
स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्न गरि संघ–प्रदेश, प्रदेश–स्थानीय र संघ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसाथ गरी शासकीय प्रक्रियामा जानुपर्ने उनले जोड दिए ।