सोमवार, बैशाख १४, २०८३

समावेशी तथा गुणस्तरिय शिक्षामा जोड

धनगढी – शिक्षा सम्बन्धि कार्यशाला धनगढीमा सम्पन्न भएको छ । ‘निशुल्क, गुणस्तरिय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने मुल नाराका साथ प्रदेश स्तरिय कार्यायोजना तर्जुमा कार्यशाला सम्पन्न भएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसि नेपाल) को आयोजनामा भएको कार्यक्रममा कैलालीका विभिन्न शिक्षा सम्बद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले विद्यालय टिमको इच्छा शक्ति भएमा धेरै काम गर्न सकीन्ने बताए । केहि सामुदायिक विद्यालयले शिक्षामा राम्रो प्रगति गरेका छन्, त्यसको अनुशरण सबैले गर्नुपर्ने उनले सुझाए । सबैले सक्ने काम गरेमा शिक्षा सुधार गर्न सकीन्ने उनले बताए ।

विद्यालयले कम्तीमा पनि बर्षभरि गरेका कामको मात्र समीक्षा गर्न सकेमा पनि धेरै कुरामा सुधार हुने उनले जोड दिए । संघीयताले गर्दा शिक्षाका संरचना ध्वस्त भएको हुँदा काम गर्नमा केहि असहज भएको उनले बताए । विद्यालयका प्रधानाध्यापकहरुको प्रतिबद्धता भएमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए । त्यसका लागि विभिन्न संघसंस्थाहरुले समन्वय गर्नुपर्ने उनले उल्लेख गरे । यस्तै कार्यक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले शिक्षाको स्तर सुधार गर्नका लागि स्थानीय सरकार लागि परेको बताईन् । उनले विभिन्न संघ संस्थाले घच्यघच्याउने काम गरेको बताईन् । उनले पालिकाले विद्यालय अनुगमनलाई प्राथमिकता राखेको बताईन् ।