शनिबार, बैशाख १९, २०८३

अत्तरियाको डिडिसी धनगढीमा सर्दै, अत्तरियामै राख्न स्थानिय राजनितिज्ञहरुको दौदधुप

अत्तरिया – कैलालीको अत्तरियामा अवस्थित दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको धनगढी दुग्ध वितरण आयोजना अब धनगढी स्थानान्तरण हुने प्रक्रिया अघि बढाइएको छ। गोदावरी नगरपालिका–१ स्थित कृषि उपज थोक बजार समितिको परिसरमा रहेको डिडिसी कार्यालय ठाउँको अभावका कारण सार्न लागिएको जनाइएको छ।

डिडिसीका आयोजना प्रमुख निरञ्जन भट्टराईले हाल डिडिसी सटरमा सञ्चालन भइरहेको र कार्यालय तथा सवारी पार्किङको लागि आवश्यक पूर्वाधार अभाव भएकाले स्थानान्तरण अपरिहार्य भएको बताए। उनका अनुसार धनगढी उपमहानगरपालिका–१५ कनरी पार्क छेउमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा दुईतले भवन र प्रशस्त खुला स्थान उपलब्ध भएकाले सोही स्थानमा सार्न प्रक्रिया अघि बढाइएको हो।

यता, स्थानान्तरणको खबर सार्वजनिक भएलगत्तै स्थानीयस्तरमा यसको विरोध सुरु भएको छ। बुधबार गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले आयोजना प्रमुख भट्टराईलाई कार्यकक्षमा बोलाई स्थानान्तरणको कारण र प्रक्रिया बारे जानकारी लिएका थिए। नगरप्रमुख भट्टले अत्तरियामै डिडिसी राख्नका लागि स्थानीय सरकार पूर्ण रूपमा तयार रहेको बताउँदै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएका छन्।

छलफलमा प्रदेश सांसद तुलसी देवकोटा, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया, स्थानीय युवा नेता लोकराज पाण्डेय ‘आगो’ लगायतको उपस्थिति रहेको थियो। उनीहरूले २०६७ सालदेखि सञ्चालनमा रहेको संस्थालाई कुनै हालतमा धनगढी नसराउन आग्रह गरेका छन्।

युवा नेता पाण्डेयले अत्तरीयामा डिडिसी स्थापनाको क्रममा सामुदायिक वनमा जग्गा उपलब्ध गराउने पहल भएको स्मरण गराउँदै अहिले त्यही ठाउँमा डेरी सञ्चालन भइरहेको बताए। उनले अत्तरीयाको डेरी धनगढी लैजान दिइने छैन भन्ने दृढता व्यक्त गरे।

हाल डिडिसीले ७ कठ्ठा क्षेत्रफलमा सञ्चालन गर्दै आएको र मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिर्दै आएको छ। ६ हजारभन्दा बढी किसान यो संस्थाबाट प्रत्यक्ष लाभान्वित छन्। दुध, दही, घिउ, पनीर र लस्सी उत्पादन गरिँदै आएको डिडिसीले भविष्यमा आइसक्रिम उत्पादन सुरु गर्ने योजना बनाएको छ।

डिडिसी प्रमुख भट्टराईका अनुसार हाल १६ अस्थायी र १३ स्थायी गरी ३० जना कर्मचारी कार्यरत छन्। देशभर डिडिसीका आफ्नै भवन र जग्गा भएपनि अत्तरीया मात्र अपवाद रहेको र ठाउँको अभावले संस्थान सञ्चालनमा कठिनाइ भएको उनको भनाइ छ।

यता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले भने अत्तरीयाको आर्थिक र सामाजिक विकाससँग डिडिसी गासिएको जनाउँदै स्थानान्तरणको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।