धनगढी, ४ असार / कैलाली कारागारको कैदीबन्दी मृत्यु प्रकरण झन झन पेचिलो बन्दै गएको छ । असार २ गते राती १२ बजेर १५ मिनेटको समयमा सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हालसम्म प्रहरीले दाबी गर्दै आएको छ ।
बैंकिङ कसुरमा कारागार चलान भएका कैदीबन्दी हरिश सिहं पाली डडेल्धुरा जिल्ला भागेश्वर ५ का बासिन्दा हुन् । उनको मृत्यु प्रकरणले डडेल्धुराको अमरगढी बजारमा आज दिन भरी आफन्तहरु लगायतका ब्यवसायीहरुले तनाव सिर्जना गरेका थिए ।
आफन्तहरुले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हरजित नाथ माथि संका गर्दै किटानी जाहेरीको लागि प्रक्रिया अगाडी बढाएका छन् । मृतकका काका पदम सिहं पालीका अनुसार छानबिनका आधारमा दर्ता गर्ने भन्दै बुधवार साँझ सम्म मुद्दा दर्ता हुन नसकेको बताएका छन् ।
मृत्यु प्रकरण बारे छानबिनको लागि जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्सीय टोली गठन भएको छ । यस घटना क्रमको अनुसन्धानका लागि मानव अधिकार कर्मीहरुले पनि चासो देखाएका छन् ।
यता कारागारको सीसीटीभी फुटेज समेत उपलब्ध नहुँदा निर्मम कुटपिटसँगै यातना दिएर हत्या नै गरेको आफन्तहरुले आरोप लगाउँदै आएका छन् ।
कारागार प्रशासक वसन्त खत्रीले भने, “सीसीटीभीमा प्राविधिक समस्या आएकाले गत वैशाख महिना देखि नै रेर्कड हुन नसकेको बताए” । कारागारमा असार १ गते साँझ सकुशल नै आएका पालीले खाना खान नमानेको असार २ गते राती १० बजेको समयमा शौचालयमा लडेको अवस्थामा भेटिए पछि सामान्य चेक जाँच गरेपछि प्रादेशिक अस्पतालमा पुर्याएको कारागार कार्यालयका स्वास्थ्य कर्मी (अहेव) गाबिन्द बिष्टले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वाल नर सिहं राणाले आफुहरुले अनुसन्धानलाई निरन्तरता दिई रहेको बताए । थप अनुसन्धान किटानी जाहेरीका आधारमा हुने उनको भनाइ रहेको छ ।